
काठमाण्डौं, १४ साउन – भारत वरिपरि आफ्नो आर्थिक र सैन्य प्रभाव बढाउने बेइजिङको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) योजनाले दक्षिण एसियामा अपेक्षित परिणाम ल्याउन सकेको छैन ।
चीनले बंगलादेश, म्यानमार, नेपाल, पाकिस्तान, श्रीलंका, माल्दिभ्स लगायत देशका ठूला पूर्वाधार निर्माण आयोजनाहरूमा लगानी गर्ने वाचा गरेको थियो। यसले बेइजिङलाई क्षेत्रीय राजनीतिमा ठूलो प्रभाव एवं आफ्नो सैन्य उपस्थिति सावधानीपूर्वक बढाउन मद्दत गर्ने ठानिएको थियो।

तर, चीन प्रायोजित परियोजनाहरू अहिलेसम्म कागजमै सिमित हुँदा यिनीहरुले ढिलाई र उच्च लागतको सामना गरिरहेका छन् । यस्तै अवस्थामा चिनियाँ लगानी श्रीलंकाको आर्थिक संकटका लागि जिम्मेवार ठानिएको छ भने पाकिस्तानको कमजोर अर्थतन्त्रको कारणसमेत मानिएको छ । यसले यी देशहरुमा चिनियाँ परियोजनाहरु कार्यान्वयनमा जानेमा झनै आशंका बढाएको छ।
चीनले पूर्वाधारको माध्यमबाट विश्वभर आफ्नो पञ्जा विस्तार गर्ने प्रयास गरिरहेको छ। भारतलाई प्रतिवाद गर्ने उद्देश्यले बेइजिङले बीआरआईलाई दक्षिण एसियामा धकेल्दै आफ्नो व्यापारलाई पनि बढावा दिन चाहन्छ ।
बीआरआई परियोजनाहरूले बंगाल, हिन्द महासागर र अरब सागर हुँदै चीनलाई खाडीमा सहज पहुँच पु¥याउन मद्दत गर्नेछ। तर चीन पाकिस्तान आर्थिक करिडोर (सीप्याक) पनि ढिलाइका कारण उच्च लागत लगायतका अन्य समस्याले ग्रस्त छ। उता चीनको उच्च ऋणी रहेको श्रीलंका देशमा पर्याप्त विदेशी सञ्चितिको अभाव हुँदा अभूतपूर्व संकटबाट गुज्रिरहेको छ।
