Monday, April 13सत्यम खबर
Shadow

‘भारतले सौर्य विद्युतको जडित क्षमता साढे ५७ हजार मेगावाट पुर्यायो’

काठमाण्डौ, १० साउन –कोइलामा आधारित थर्मल प्लान्ट माथिको निर्भरता कम गर्न लागिरहेको भारतले सौर्य ऊर्जाको स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता साढे ५७ हजार मेगावाट पुर्याएको छ । गत जुन ३० तारिकसम्मको अवधिमा सौर्य ऊर्जा प्रविधिबाट उत्पादित विद्युतको जडित क्षमता यति पुगेको हो ।

६ हजार मेगावाट रुफटपसहित सौर्य विद्युतको जडित क्षमता ५७ हजार ७ सय ५ मेगावाट पुगेको भारत सरकारका नवीकरणीय ऊर्जा मन्त्री भागवन्त खुबाले लोकसभा बैंठकलाई सम्बोधन गर्ने क्रममा जानकारी गराएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनले वायु ऊर्जाको स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता पनि ४० हजार ७ सय ८८ मेगावाट पुगिसकेको बताए ।

सन् २०२२ को अन्त्यसम्ममा नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता १ लाख ७५ हजार मेगावाट पुर्याउने भारतको लक्ष्य छ । जसमा १ लाख मेगावाट सौर्य विद्युत र ६० हजार मेगावाट विद्युत वायु ऊर्जाका आयोजनाबाट उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

अहिलेसम्ममा ठूला जलविद्युत आयोजना बाहेक नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता १ लाख १४ हजार मेगावाट पुगिसकेको पनि उनले बताए । ‘जलविद्युत सहित नवीकरणीय ऊर्जाको स्रोतको उपयोगबाट हुने विद्युत उत्पादन परिमाण बढ्दै गइरहेको छ’, उनले भने, ‘आर्थिक वर्ष २०१७-१८ सम्ममा नवीकरणीय ऊर्जाको स्रोतबाट वार्षिक विद्युत उत्पादन २२७.९६ अर्ब युनिट थियो ।

अहिले यो बढेर ३२२.५३ अर्ब पुगेको छ ।’ उनले चालू वर्षको लक्ष्य बमोजिम १ लाख १४ हजार मेगावाट (ठूला जलविद्युत आयोजना बाहेक) को लक्ष्य पूरा भइसकेको बताए । भारत बढी विद्युत खपत गर्ने तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने विश्वको तेस्रो ठूलो मुलुक हो । भारतको विद्युत प्रसारण प्रणालीमा करिब ४० प्रतिशत हिस्सा नवीरकणीय ऊर्जाको रहेको छ ।

कार्बन उत्सर्जन न्युनिकरण गर्न नवीकरणीय नवीकरणीय ऊर्जाकाे उत्पादन बढाउनु पर्ने चुनाैती भारत सामु छ । कार्बन उत्सर्जन क्रमशः घटाउँदै लैजान सन् २०३० भित्र नवीकरणीय ऊर्जाकाे स्राेतबाट उत्पादन हुने विद्युतकाे जडित क्षमता साढे ४ लाख मेगावाट पुर्याउने लक्ष्य छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *