
बर्दिया, ३ कार्तिक – बर्दिया जिल्लामा हजारौ टन धानबाली नोक्सानी भएको छ । बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जिल्लामा हजारौं टन धानबाली नोक्सान भएको जनाएका छन् । सहायक प्रजिअ शर्माले भने, ‘असोज ३१ गतेदेखिको हावाहुरी र अविरल वर्षातका कारण बर्दियामा बाढीले बितण्डा मच्चाएको छ । किसानहरुले काटेको हजारौं टन धान पानीमा तैरिरहेको छ भने नकाटेको धान हावाहुरीले नोक्सान पुर्याएको बताएका छन् ।’

फाईल फोटो
सहायक प्रजिअ शर्माका अनुसार १५, २० वटा पहाडी जिल्लाको पानी सञ्चित भएर कर्णाली र बबईमा पानीको बहाब बढ्दा राजापुर नगरपालिकाका ९ सय र गेरुवा गाउँपालिकाका १ सय घरमा विस्थापित भए ।
उद्धारका लागि सुरक्षा निकायका साथै रेडक्रस, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति परिचालित भएकाले मानवीय क्षति हुन पाएको छैन । हिजो राति ९ बजेसम्म १३ मिटर १० सेन्टिमिटर थियो भने आज बिहान ५ बजे १२ मिटर ३० सेन्टिमिटर भएकाले जनतामा केही राहतको अनुभूति भएको छ । शर्माले फिल्डको जस्ताको तस्तै केन्द्रमा रिपोर्टिङ गरिरहेको पनि बताए ।
