
नेपालगन्ज, (डेस्क) २९ भाद्र – अफगानिस्तानले हालै गठन गरेको अन्तरिम सरकारमा परेका कार्यबाहक मन्त्रीहरूको छनोटप्रति विश्वका अन्य ठूला मुलुकसँगै चीन पनि असन्तुष्ट रहेको देखिएको छ ।
‘तालिवानले समावेशी सरकार गठन गर्ने र सबै पक्षलाई समेट्ने प्रतिबद्धता चीनसमक्ष जनाएको थियो, तर तालिवानले प्रतिबद्धता उल्लंघन गरेको छ,’ चिनियाँ कूटनीतिज्ञलाई उद्धृत गर्दै अल अरेबिया पोस्टले जनाएको छ । ‘यसले अफगानिस्तानमा हिंसाको राजनीतिले निरन्तरता पाउने स्थिति देखिएको छ । चीन यसबाट विश्वस्त हुने स्थिति छैन ।’
चिनियाँ विज्ञहरूलाई उद्धृत गर्दै अल अरेबिया पोस्टमा प्रकाशित समाचारअनुसार अन्तरिम सरकार समावेशी नभएको, मुख्य पद तालिवानका सदस्यले लिएको, महिला नभएको मात्र नभएर सबैजसो पस्तुन जातीय समूहका मात्रै रहेकामा चीन असन्तुष्ट छ । यसैगरी पुराना गार्डहरूको वर्चस्व रहेको भन्दै यसले चीनका लागि पनि सुरक्षा खतरा पैदा गर्ने चीनको चिन्ता छ ।
दुईदशक लामो युद्धबाट प्रभावित अफगानिस्तानमा तालिवानले समावेशी सरकार गठन गर्ने अपेक्षा गरेकामा मन्त्रिमण्डलको रूप र आकार चीनको समेत अपेक्षाविपरीत भएको छ ।
तालिवानका संस्थापक मुल्लाह उमरका निकट सहयोगी मोहम्मद हसन अखुन्द कार्यबाहक प्रधानमन्त्री भएका छन् । मुल्लाह अब्दुल गनी बरादर र अब्दुल सलाम अनाफी कार्यबाहक उपप्रधानमन्त्री नियुक्त भएका छन् । यसैगरी हक्कानी नेटवर्कका संस्थापकका छोरा साराजुद्दिन हक्कानी आन्तरिक मामिलामन्त्री नियुक्त भएका छन् जो अमेरिकी प्रतिबन्धित सूचीमा छन् । तालिवानका संस्थापक उमरका छोरा मोहम्मद याकुब कार्यबाहक रक्षामन्त्री छन् ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को कालोसूचीमा रहेका समूहका नेता मन्त्रिपरिषदमा समावेश गरिएका छन् । सुरक्षा परिषद्को सदस्यका रूपमा चीन तालिवानको मन्त्री छनोटप्रति असन्तुष्ट छ । ‘प्रतिबिन्धित व्यक्तिहरूको मन्त्रिपरिषदमा उपस्थिति विश्व समुदाय र चीनका लागि पनि प्रमुख चिन्ताको विषय हो, अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय मान्यता पाउन र सामान्य अन्तर्राष्ट्रिय आदानप्रदान पुनस्र्थापना गर्न निकै कठिन छ,’ एकजना चिनियाँ विश्लेषकले भनेका छन्, ‘यो स्थितिलाई चीनले ध्यान दिनेछ । तालिवानले वचनबद्धता पूरा गर्नुपर्छ भन्नेमा चीन स्पष्ट छ ।’ जानकारहरूको भनाइमा तालिवानले चीन वा अन्य मुलुकहरूको अपेक्षाको परबाह गर्ने स्थिति देखिएको छैन । चीनका लागि पूर्वी तुर्कस्तान इस्लामिक आन्दोलन चिन्ताको एक प्रमुख कारण भएको छ । तालिबानलाई चीनको चिन्ताबारे जानकारी छ । स्रोतः जानकी पोष्ट

