Friday, April 17सत्यम खबर
Shadow

अनियमितताको ढाकछोप गर्न फुल्टेक्रा माविबाट प्रेस नोट जारी !

– रमेश चन्द्र कुमाल
नेपालगन्ज, ३२ श्रावण – फुल्टेक्रा माविले अनियमितताको ढाकछोप गर्न प्रेस नोट जारी गरेको छ । नेपालगन्ज वडा नं. ६ मा रहेको फुल्टेक्रा माध्यमिक विद्यालय प्रस्तावित नाम बाबुराम लौघर महतो माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन तथा शौचालय निर्माण कार्य हुँदा निर्माण कार्यमा भारी अनियमितता भई रहेको कुरा चर्चामा आउन थालेपछि वडा नं. ६ बस्ने सुष्मा शुक्लाले निर्माण भई रहेको विद्यालयको विवरण तथ्यांकबारे २०७८÷४÷१७ गते सूचना तथा विवरणको प्रतिलिपि पाउन नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार सूचना माग गरेपछि विद्यालयमा खैलाबैला मच्चेको थियो ।


सूचना माग अनुसार १५ दिनभित्र सम्पूर्ण जानकारी सूचना माग गर्नेलाई उपलब्ध गराउने प्रावधान छ तर विद्यालयलाई निर्माण कार्यमा कति रकम खर्च भयो यसबारे यथेष्ट जानकारी नरहेकोले उनी १३ दिनसम्म सूचना दिने काम गरेनन् । अनियमितता बारे धेरै कुरा पर्दाफास हुने डरले उनीले हतार–हतार गरी आईतवार दिन निर्माणाधीन विद्यालयमा एक कार्यक्रमको आयोजन गरि प्रेस नोट जारी गरे ।
यस प्रेस नोटमा विद्यालयको जग्गा दान दिने व्यक्ति माधवराम वर्मा तथा वि.व्य.स. सदस्य ओमप्रकाश श्रीवास्तवबीच करीब २ वर्षदेखिको वार्ताबाट केही शर्त सहित करीब ७ करोड मूल्य बराबरको ०–१४–१५ जग्गाको भोगाधिकार विद्यालयलाई निःशुल्क प्राप्त भएको जानकारी गराउँदै जग्गा प्राप्तिपछि कम्तिमा १७ वटा कोठाको नयाँ भवन, शौचालय निर्माण स्थलको जग्गामा खाल्टो रहेकोले माटो पटान र बाउण्ड्री वाल तथा भवन निर्माणका लागि संघीय सरकारबाट प्रति भवन रु. ३६ लाख र प्रति शौचालय रु. ७ लाखका दरले बजेट स्वीकृत भई निर्माण कार्य शुरु भएको लिखित जानकारी गराईएको छ । यो निर्माण कार्यका लागि अनुभवी दक्ष व्यक्ति वडा नं. २१ बस्ने बसीर भन्ने इब्राहीम इद्रिसी दर्जीलाई विधिवत सम्झौता गराई निर्माण कार्य सम्पन्न गराउने जिम्मा दिएको जानकारी गराउँदै सोको लागि प्रति ४ कोठा भवनको रु. ३६ लाख र प्रति शौचालय रु. ७ लाख मध्येबाट स्टीमेट बमोजिम निर्माण कार्य सम्पन्न गर्न नेपालगन्ज उमनपामार्फत संघीय सरकारबाट प्राप्त हुने नियमानुसारको शतप्रतिशत निकासा रकम मात्र निजलाई भुक्तानी दिने सम्झौता गरिएको जानकारी गराइयो ।


त्यस्तै भवन निर्माण कार्यको लागि स्टीमेटमा नभएका तर निर्माणको क्रममा नभइ नहुने कार्यहरु पानीको व्यवस्था, विद्युत, पाइप, निर्माण स्थलमा निर्माण कार्यको शुरुवात हुँदा माटो पटान आदिमा लाग्ने खर्च विद्यालयले नै बेहोर्ने सम्झौता भएको थियो । सोही प्रकार माटो पटानको कार्य निर्माण समितिले स्वयंको तर्फबाट गराउँदा जम्मा रु. २ लाख ७४ हजार नेगउमनपाबाट प्राप्त भएको र विद्यालयको तर्फबाट रु. १७ हजार गरि २ लाख ९१ हजार खर्च भएको बताइएको छ ।
यस विद्यालय भवन निर्माण कार्य सम्पन्न गराउन संघीय सरकारको तर्फबाट रु. ३६ लाख जन सहभागितातर्फ रु. २ लाख ९८ हजार ७३२ पैसा ९७ गरि जम्मा रु. ३८ लाख ९८ हजार ७३२ पैसा ९७ ।
यस्तै भवन नं. २ तर्फ संघीय सरकारको रु. ३६०००००, जनसहभागितातर्फ रु. २९८७३२.९७ गरी जम्मा रकम रु. ३८९८७३२.९७, शौचालय २ वटा संघीय सरकारको तर्फबाट रु. १४०००००, जनसहभागिता तर्फ रु. ६९८१७.४२ गरी जम्मा रकम रु. १४६९८१७.४२, माटो पटान तर्फ नेगउमनपातर्फको रु. ३२५०००, जनसहभागिता तर्फ रु. १८०७८.४५ गरी जम्मा रकम रु. ३४३०७८.४५, निकासा विवरणतर्फ नेगउमनपाबाट प्राप्त निकास भवन नं. १ तर्फ निकासा रकम रु. ३५४४९४३, भवन नं. २ तर्फ निकास रकम रु. ३५१४२३८, शौचालय तर्फ निकासा रकम रु. १३५३९२६, माटो पटानतर्फ निकासा रकम रु. २७४९०० गरी जम्मा प्राप्त रकम रु. ८६८८००७ ।
यसरी भवन नं १ तर्फ जम्मा खर्च रकम रु. ३६४६९४३, भवन नं. २ तर्फ जम्मा खर्च रकम रु. ३६२०९४०, शौचालयतर्फ जम्मा खर्च रकम रु. १३५३९२६, माटो पटानतर्फ खर्च रकम रु. २९१९०० गरी जम्मा खर्च रकम रु. ८९१३७०९, विद्यालय तर्फबाट भवन निर्माणमा रु. १,४०,७०२ र माटो पटानमा रु. १७००० गरी जम्मा रु. १५७७०२ खर्च भएको वि.व्य.स. तथा सामुदायिक सहयोगबाट रु. ६८००० बराबरको नगद र निर्माण सामाग्री ल्याइएको जानकारी संचारकर्मीहरुलाई गराइएको छ ।


निर्माण समितिमा शिक्षक राम सुमिरन मिश्रालाई संयोजक त्यस्तै शि.अ.संघका अध्यक्ष कल्पनाथ तिवारीलाई सदस्य त्यस्तै नै अन्य सदस्य पदमा वि.व्य.स. सदस्य ओम प्रकाश श्रीवास्तव, वीरेन्द्र यादव र लेखापाल मुनीर अहमद अन्सारीलाई राखिएको बताइएको छ ।
त्यस्तै नै अनुगमन समितिमा जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष अजयकुमार श्रीवास्तव–संयोजक, जग्गादाता र संस्थाका अध्यक्ष माधवराम वर्मालाई सदस्य पदमा र अन्य सदस्य पदमा क्रमशः वि.व्य.स. सल्लाहकार विजयशम्शेर राणा, वि.व्य.स. भरतबहादुर बर्मा र प्रधानाध्यापक मो. शमीम कुरैशीलाई राखिएको बताइएको छ । विद्यालयको निर्माण कार्य शुरु हुने बित्तिकै यसमाथि औंला उठ्न शुरु भएको थियो जसको कारणले नै स्थिति सूचना मागसम्म पुग्यो ।
विद्यालयका विभिन्न पदका पदाधिकारीहरुबाट अनियमिततापूर्ण कार्य हुन शुरु भएको छ । यसबारे चर्चा परिचर्चा हुन थालेपछि अहिले विद्यालयले प्रेस नोट जारी गर्न बाध्य बनेको हो यो कुरा प्रेस नोट कार्यक्रमबीच देखियो । सो निर्माण कार्य विवरणको जानकारी गराउने पदाधिकारी ओमप्रकाश श्रीवास्तवले आफै भने, पारदर्शिता तथा सूचनाको महत्वलाई हृदयंगम गरी कुनै किसिमको विवाद र भ्रमको स्थिति उत्पन्न नहोस् यसको लागि हामीहरुले यो कार्यक्रमको आयोजना गरेका छौं । यो कुरा विद्यालय पदाधिकारीतर्फबाट आउँदा संचारकर्मीहरुले प्रश्न गरे सूचना माग गर्ने व्यक्तिलाई नै किन सूचना समयमा उपलब्ध गराइएन ? सबैलाई सूचना किन उपलब्ध गराइँदैछ ? यो भ्रमको स्थिति सूचना माग गर्नेले पैदा गरेको हो कि विद्यालयबाट भ्रमको स्थिति पैदा गरिएको हो ? त्यस्तै नै निर्माण समितिमा सबै शिक्षकलाई पदाधिकारी किन बनाइयो ? अभिभावक मध्येबाट निर्माण समितिमा किन राखिएन ? वडाका जनप्रतिनिधिहरुलाई किन राखिएन ? लगायतको उत्तर विद्यालयका पदाधिकारीहरुले दिन सकेनन् ।
यसरी विद्यालय तर्फबाट जारी गरिएको प्रेस नोट नै अहिले संदिग्ध बन्न पुगेको छ । कार्यक्रममा मुख्य प्रवक्ताको रुपमा देखिएका ओमप्रकाश श्रीवास्तव विगतमा २ पटक यस विद्यालयका वि.व्य.स.को अध्यक्ष भइ सकेका छन् । तर विद्यालय कमाउ भएकोले उनी यस विद्यालयलाई छाड्न चाही रहेका छैनन् । जसको कारण उनी अहिले मनोनित सदस्य भइ त्यहाँ रहेका छन् । उनीले कार्यक्रमबीच भने, अध्यक्ष भरतबहादुर वर्मा कम पढेलेखेका व्यक्ति हुन् । उनी संचारकर्मीको प्रश्नको उत्तर दिन सक्दैनन् यसकारण उनलाई सम्पूर्ण जानकारी नभएको समेत बताईयो । यसमा कार्यक्रममा उपस्थित केही अभिभावकहरुले भने, जब अध्यक्ष वर्मासँग क्षमता छैन भने उनीलाई यस विद्यालयमा अध्यक्ष किन बनाइएको हो ?
यसको साथै सो कार्यक्रममा उपस्थित विद्यालयका अधिकांश अभिभावकहरुले प्रेस नोट जारी गरेबाट पारदर्शिता देखिएन । यस कारण सम्बन्धितले अहिलेसम्म भएको निर्माण विकास कार्यबारे छानबीन हुनुपर्ने आवाज उठाउँदै अनियमितताको ढाकछोप गर्न यो प्रेस नोट जारी गरिएको आशंका व्यक्त गरेका छन् । (स्रोतः आजको सामनाबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *