
डुडुवा, २२ अषाढ – स्थानीय तह अन्तर्गत रहेका न्यायिक समितिहरुको काम कारवाही प्रक्रिया तथा सेवालाई थप गणस्तरिय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरिक्षण गरेको छ । जिल्ला न्यायधिससहितको टोलीले आज मंगलबार बाँके डुडुवा गाउँपालिकाको न्यायिक समितिको निरीक्षण तथा छलफल गरेको छ ।
गाउँपालिका अन्तर्गत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा तथा विवाद दर्ता, मिसिलको व्यवस्थापन, राय तथा निर्णय र फैसलालगायत विभिन्न प्रक्रियाका बारेमा उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शाहिदा बानोले जानकारी गराउनु भएको थियो ।
त्यस अवसरमा जिल्ला अदालतका न्यायधिस दुर्गाबहादुर भुषालले न्यायिक समितिको काम कर्तव्य अधिकार, न्यायिक प्रक्रिया, मुदा दर्ता, मिसिल, निवेदनका ढाँचा, मुद्दाका विषय लगायत विभिन्न अदालती प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियो । न्यायधिस भुषालले न्यायिक सम्पादनका क्रममा उत्पन्न विभिन्न समस्या समाधान गर्न कुनै पनि समस्या आइ परेमा जिल्ला अदालत जहिले पनि तयार रहेको आश्वासन दिंदै न्यायिक समितिलाई अदालतका काम कारवाही प्रक्रिया बारेमा आएर जानकारी लिन समेत आग्रह गर्नुभयो ।
त्यस क्रममा अदालतको अनुगमन टोलीले विभिन्न न्यायिक समितिका पदाधिकारीहरुलाई अदालती प्रक्रिया र अभिलखीकरणका बारेमा आवश्यक जानकारी गराएको थियो । भेटघाटमा न्यायिक समिति सदस्य रिता परियार, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय, कानूनी सल्लाहकार अधिबक्ता ईश्वरीप्रसाद ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
निरीक्षण टोलीमा अदालतका श्रेस्तेदार तिर्थराज भट्ट, शाखा अधिकृत गणेश रिजाल र गणेशप्रसाद भट्ट र नासु देबेन्द्र देवकोटाको पनि सहभागिता थियो भने टोलीले समितिमा रहेका विभिन्न अभिलेखीकरण गरिएका फाइल, मिसिल, रजिस्टर समेत अध्ययन गरेको थियो ।
अध्ययनका क्रममा जिल्लाका अन्य स्थानीय तहहरुभन्दा डुडुवाको अभिलेखीकरणको व्यवस्थापनको कार्य उत्कृष्ट रहेको पाइएको न्यायधिस भुषालले बताउनुभयो । चुस्त र प्रक्रियागत रहेको पाइएको थियो । आज गरिएको निरिक्षणपछि अदालतले प्रतिबेदन समेत प्रदान गर्ने जनाएको छ ।




