
नेपालगन्ज, १८ अषाढ – बिद्युत अनियमितताका बिषयमा आज सूचना माग गरिएको छ । नेपालगन्ज लोडसेडिंग मुक्त हुँदा पनि दिनहुँ बिद्युत सेवा अनियमित हुन थालेपछि नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रसँग सूचना माग गरिएको हो ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम सूचना माग गर्दै स्थानीय युवाहरुले नेपालगन्ज बितरण केन्द्रमा निवेदन दर्ता गराएका हुन् ।

नेपालगन्ज १२ का नमस्कार शाह, लुना बुढाथोकी, मुना बिष्ट नेपालगन्ज २२ का शिवकुमार बर्मा, लोकबहादुर घर्ती मगर र नेपालगन्ज १० का हेमराज भट्टले सूचना माग गर्दै निवेदन दर्ता गराएका हुन् ।
उनीहरुले बिद्युतसँग माग गरेका सूचनाहरुमा नेपालगन्ज लोडसेडिंग मुक्त हुँदा पनि बिद्युत अनियमित हुनुको कारण, एक दिनमा बिद्युत सेवा अवरुद्ध हुने समय, समस्या समाधानका लागि गरिएको प्रयास, बिद्युत सेवा अवरुद्ध हुने बारेको सूचना प्रवाह सम्वन्धि विवरण, गुनासो सुनुवाईको व्यवस्था, कार्यालयका सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको नाम, पद, सम्पर्क नम्बर र हाल बिद्युत सेवा अवरुद्ध हुने बारे जारी गरिएको सूचनाको छायाँकपि लगायत रहेका छन् ।
