Thursday, November 21सत्यम खबर
Shadow

कोरोना हटस्पट बनेको लुम्बिनी प्रदेशमा उपचारको क्षमता कति छ ?

बुटवल, ११ वैशाख – पछिल्लो दश दिनको अवधिमा थपिएका कोरोना संक्रमितको संख्यालाई हेर्दा लुम्बिनी प्रदेश कोरोना महामारीको हटस्पट बनिरहेको देखिएको छ । चैत ३१ सम्म १ सय १० रहेको कोरोना संक्रमितको संख्या बैशाख ९ गतेसम्म ३ हजार २ सय ३ पुगेको थियो ।
बिहिबार देशभर २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा लुम्बिनी प्रदेशमा मात्र ८ सय ९३ जना संक्रमित थपिए । यो संख्या देशभर थपिएको संख्याको एक तिहाई भन्दा बढी हो । त्यो संख्या शुक्रबार झन् बढेको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका विभिन्न कोरोना विशेष अस्पताल आईसोलेसनमा गरि २ सय ७१ जना उपचाररत छ । ती मध्ये १ सय २ जनाको आईसियू र १४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । दिनप्रतिदिन लक्षणसहितका संक्रमित थपिदै जाँदा प्रदेशमा निर्माण गरिएका कोरोना विशेष अस्पताल तथा आईसोलेसनहरू भरिँदै गएका छन् ।


लुम्बिनी प्रदेशमा चार वटा सरकारी अस्पतालमा कोरोना विशेष आईसोलेसन अस्पताल सञ्चालित छन् । त्यस्तै ७ वटा निजी अस्पताल तथा मेडिकल कलेजमा पनि कोरोनाका विरामीको उपचारको लागि आईसोलेसन स्थापना गरिएको छ । ती सबै अस्पतालहरुमा बिरामी भरिदै जाँदा नयाँ थपिने संक्रमितहरूले भर्ना नपाउने अवस्था छ ।
प्रदेशका सरकारी चार र निजी ७ गरि ११ वटा अस्पतालमा ५ सय ७३ वटा आईसोलेसन बेड भनिए पनि सबै अस्पतालले बिरामी भर्ना गरेका छैनन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीका अनुसार प्रदेशभरी सरकारी र निजीमा गरि १ सय ४२ बेड आईसियू छन् । त्यस्तै एचडियू १ सय ५९ र ७५ वटा भेन्टिलेटर छन् । सरकारीस्तरका चार वटा कोरोना विशेष अस्पतालमा जम्मा १ सय ९२ बेड छन् । आईसियू ३९ बेड, एचडियू १ सय ३ र २१ वटा भेन्टिलेटरले संक्रमितहरुको चाप नथेग्ने देखिएको उनले बताए ।
बुटवल १२ रामनगरस्थित धागो कारखानामा सञ्चालन गरिएको कोरोना विशेष आईसोलेसन अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले अस्पतालमा १३ वटा आईसियू बेड र २ वटै भेन्टिलेटर रहेको बताए । ३६ बेडको आईसोलेसन छ । भीम अस्पतालमा २२ बेडको एचडियू र ५ बेडको आइसियू कक्ष छ । गम्भीर बिरामीलाई आइसियूमा र अन्य कतिपयलाई एचडियूमा भर्ना गरिएको छ ।
भैरहवाकै युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा कलेजमा ४२ बेडको आईसियू, ३० बेडको एचडियू र ३० वटा भेन्टिलेटर रहेपनि कोरोनाका संक्रमितहरुको लागि ६ वटा मात्रै भेन्टिलेटर प्रयोग हुँदै आएका छन् ।
भेरी अस्पतालमा २१ र नेपालगञ्ज मेडिकल कलेजमा ३० वटा गरि जम्मा ५१ आइसियू बेड छन् । भेन्टिलेटरसहितका आइसियु भने जम्मा ७ वटा छन् । अस्पतालमा अहिले अर्को महत्वपूर्ण कुरा अक्सिजन हो । भारतमा कोरोना बढेसँगै उसले बाहिर अक्सिजन बेच्न लगभग रोक लगाएको छ। नेपालमा त्यसकोप्रभाव पर्ने देखिन्छ ।
भेरी अस्पतालले पहिले सामान्य अवस्थामा दैनिक १५–२० सिलिण्डर अक्सिजन खपत गर्दथ्यो । कोरोनाका बिरामी बढेपछि दैनिक दुई सय भन्दा बढी सिलिण्डर अक्सिजन आवश्यक पर्ने गरेको डा. पारस पाण्डेले जानकारी दिए । भेरी अस्पतालले प्राइभेट अक्सिजन प्लाण्टहरूबाट अक्सिजन खरिद गर्दै आएको छ ।
नेपालगन्ज शिक्षण अस्पतालमा पनि दुईदेखि तीन सयसम्म अक्सिजन चाहिन थालेको उपनिर्देशक दिनेह श्रेष्ठले बताए । ’बिरामीको चाप बढेपछि दैनिक साढे दुई सयदेखि कम्तिमा पनि ३०० सिलिण्डर जति अक्सिजन आवश्यक पर्ने गरेको छ,’ उनले भने, ’नेपालगन्ज मेडिकल कलेजले यसअघि इण्डियाबाट आवश्यक अक्सिजन खरिद गरेर ल्याउने गर्दथ्यो । तर, अहिले त भारतले अक्सिजन दिन बन्द गरिसक्यो ।’
नेपालगन्जकै दुई वटा प्राइभेट कम्पनीबाट आवश्यक अक्सिजन उनीहरूले खरिद गर्छन्। त्यो बाहेक कलेजको आफ्नै प्लान्ट पनि छ । यही दरमा संक्रमित थपिदै गए कम्पनीबाट ल्याइने र आफ्नै प्लान्टको अक्सिजनले नपुग्ने उनले बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना विशेष अस्पतालमा गरि दैनिक एकसय देखि डेढसय सिलिण्डर सम्म अक्सिजन खपत भईरहेको छ।
‘अक्सिजन सहितका ३६ वटा बेड सञ्चालनमा आएपछि र संक्रमित थपिएपछि अक्सिजनको खपत पनि थपिदै जान्छ,’ उनले भने ।
अस्पतालमा अक्सिजन उत्पादनको लागि प्लाण्ट जडान गरिएको भए पनि प्लाण्ट बिग्रिएपछि मर्मत सम्भार नहुँदा अक्सिजन बाहिरबाट खरिद गर्ने गरेको छ । रूपन्देहीमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आफैले प्लाण्ट जडान गरि अस्पताललाई आवश्यक अक्सिजन उत्पादन गर्दै आएको भए पनि अरु कुनै पनि अस्पतालले प्लाण्ट जडान गर्न सकेका छैनन् ।
युनिभर्सल कलजे अफ मेडिकल साईन्सेजमा मात्र दैनिक ३ सय वटा ठूला सिलिण्डर खपत हुने गरेको छ । ‘अहिलेसम्म ३ सय वटा जम्बो सिलिण्डरले चलिरहेको छ, तर कोरोना संक्रमित थपिईरहेकोले अब दैनिक ५ सय वटा सम्म आवश्यक पर्ने देखिएको छ,’ अस्पताल प्रशासनका तेजकुमार केशीले भने ।
केशीले अहिलेसम्म रुपन्देहीमै अक्सिजन उत्पादन भईरहेकोले सहज भएपनि संक्रमित बढ्दै गएपछि अभाव हुनसक्ने बताए । संक्रमित जति थपिन्छन्, अक्सिजन त्यति नै आवश्यक पर्छ, तर उत्पादन नबढेपछि अभाव हुन सक्छ । उनले आशंका व्यक्त गरे ।
चिकित्सकका अनुसार तथा स्वासप्रस्वासका विरामीको लागि दैनिक १५ सय लिटरसम्म अक्सिजन आवश्यक पर्छ । बरिष्ट मुटुरोग विशेषज्ञ डा. समिर गौतमले स्वासप्रस्वासका विरामीलाई एकमिनेटमा एकदेखि दुईलिटर सम्म अक्सिजन आवश्यक पर्ने बताउँछन् ।
सामाजिक विकास मन्त्रालयका सचिव पन्थले आफूहरू नियमित अस्पतालहरुसँग सम्पर्कमा रहेको र अक्सिजन अभाव नभएको दावी गरे । ‘जिल्लाभित्रै अक्सिजन उत्पादन भईरहेकोले अभाव हुने अवस्था छैन, उद्योगीहरुले अक्सिजन उत्पादनका लागि नियमित विद्युत आपूर्ति गर्न आग्रह गर्नुभएको छ, त्यसतर्फ पनि हाम्रो ध्यान गएको छ’ उनले भने ।
रुपन्देही उद्योग संघका अनुसार रुपन्देहीमा तिनवटा उद्योगले अक्सिजन उत्पादन गर्दै आएका छन् । त्यस्तै केहि विक्रेताहरुले बाहिरी जिल्लामा उत्पादित अक्सिजन समेत विक्री वितरण गर्दै आएका छन् ।
कहाँ कहाँ उपचार भइरहेको छ कोरोनाका बिरामी
रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालसँगै चौराह अस्पताल कालिकानगर, तिलोत्तमास्थित क्रिमसन अस्पताल, देवदहमा रहेको देवदह मेडिकल कलेज तथा भैरहवा स्थित भिम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा कोरोना संक्रमितहरुको उपचारको लागि आईसोलेसन सञ्चालनमा छन् । यी अस्पतालहरुको आईसोलेसन र आईसियूमा पनि संक्रमितहरु भरिएका छन् ।
जनस्वास्थ्य प्रशासक चौधरीले अरू अस्पतालहरुमा विरामी भर्ना भईरहेको र आवश्यक परे ति अस्पतालहरूमा पनि भर्नाको लागि रिफर गरिने बताए । ‘अहिले अरू अस्पतालकै बेडले थेगिरहेको छ, विरामी बढ्न थाले र आवश्यक परे भर्नाको लागि रिफर गरिन्छ,’ उनले भने ।
बाँकेको भेरी अस्पताल र दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा संक्रमितहरु अस्पताल बाहिरै भर्ना भएका दृश्य सामाजिक संजालमा सार्वजनिक भईरहेका छन् ।
भेरी अस्पतालमा लक्षण सहितका १ सय ४ जना संक्रमित भर्ना भएका छन् । त्यस्तै ३० जना आईसियू र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको चौधरीले बताए । उता बेलझुण्डी अस्पतालमा पनि ३७ जना विरामी भर्ना भएका छन् ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लक्षणसहितका १४ जना र आईसियूमा १८ गरि ३२ जना संक्रमित भर्ना भएका छन् । लुम्बिनी मेडिकल कलेज पाल्पामा पनि ५ जना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रदेशमा रहेका ३ हजार २ सय तिनजना सक्रिय संक्रमितमध्ये १ हजार ६५० अर्थात् ५० प्रतिशत भन्दा बढि बांके जिल्लाका मात्रै रहेका छन् । त्यस्तै रुपन्देहीमा ७ सय ३० जना सक्रिय संक्रमित छन् । अरु जिल्लामा दाङमा ३ सय ७, बर्दियामा १ सय ८९, पाल्पामा १ सय २९ जना संक्रमित रहेका छन् ।
दोश्रो लहरमा रोल्पामा कुनैपनि संक्रमित फेला परेका छैनन् । गतवर्ष जस्तै दोश्रो लहरको संक्रमणपनि भारतीय सिमा जोडिएका जिल्लामा बढि फैलिएको छ । भारतमा संक्रमण फैलिएपछि त्यहां रहेका नेपालीहरु नेपाल आउने क्रम बढेपछि सिमा जोडिएका जिल्लामा संक्रमण फैलिएको हो ।
रुपन्देहीको बेलहिया नाकाबाट मात्र चैत्र चौथो साता हेल्थडेस्क स्थापना गरिएपछि भारतबाट साढे १५ हजार बढी नेपालीहरु स्वदेश फर्किएको तथ्यांक छ । यसरी स्वदेश फर्किएकामध्ये एकसयको हाराहारीमा मात्रै एन्टिजिन परीक्षण गरिएको छ । सिमानाकामा जनशक्ति अभावले चेकजाँच फितलो छ भने भिडभाड नियन्त्रण गर्न नसक्दा नेपाल–भारत निर्वाध आउजाउ छ ।
भारतमा रोजगारी गरी फर्कने मात्र होईन भारतीय बजार सुनौलीमा उपभोग्य सामान किनमेल गर्न जाने नेपालीहरुको संख्यापनि उस्तै छ । नेपालमा पछिल्लो समय भेटिएका अधिकांश संक्रमित भारतबाट आएका र उनीहरुका आफन्त छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक डा. राजेन्द्रकुमार गिरीले खुल्ला सीमामा कारण नेपाल–भारत आउजाउमा कडाई नगरिँदा संक्रमण तीव्र फैलिएको बताए ।
पछिल्लो १० दिनजस्तै संक्रमण यसैगरी तीव्ररुपमा फैलियो भने रुपन्देहीसँगै लुम्बिनी प्रदेशका सबै अस्पतालहरूमा कोरोना संक्रमित भरिने उनको भनाई छ । तर प्रदेश सरकार र स्थानीय तहहरुले पनि भएका आईसोलेसनहरुको क्षमतावृद्धि, जनशक्ति व्यवस्थापन तथा नयाँ आईसोलेसन थप गर्ने तर्फ चासो देखाएका छैनन् ।
स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक चौधरीले कुनैपनि अस्पतालमा दरबन्दी अनुसार जनशक्ति नभएको र अस्थायी दरबन्दी कायम गरि काम चलाउने गरिएको बताए ।
भारतबाट आउने नेपालीहरुलाई होल्ड गर्नको लागि सम्बन्धित स्थानीय तहहरुलाई बजेट पठाएपनि होल्डिङ सेन्टर बनाउने स्थान नभएका कारण ढिलाई भएको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भने कोरोना संक्रमित थपिदै गएपछि सरकारी अस्पतालहरुमा अक्सिजनसहितको बेड संख्या थप्ने, होटलहरुलाई आइसोलेन सेन्टर बनाउने र निजी अस्पतालहरुमा कोभिड उपचारसहितको आईसीयू र भेन्टिलेटर बनाउने तयारी सुरु गरिएको दावी गरे ।
सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थले यसअघि संचालन भएका कतिपय कोरोना अस्पतालहरुमा अक्सिजन सहितका बेड संचालन नभएकोले ति बेडहरुमा पनि संक्रमित भर्ना गर्ने तयारी गरिएको बताए । बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजन सहितका ३६ वटा बेड रहेको र अहिले संचालन नभएकोले एकदुईदिन भित्रै संचालन गर्ने तयारी गरिएको उनले बताए ।
त्यस्तै दाङको बेलझुण्डी अस्पतालमा पनि थप बेडहरु संचालन गर्ने तयारी गरिएको उनको भनाई छ । ‘प्रदेशका कोरोना अस्पतालहरुमा आईसियू र अक्सिजन सहितका बेड प्रदेश सरकार आफैले थप्छ, मेडिकल कलेजहरुमा रहेको आईसियू र भेन्टिलेटरमा संक्रमित भर्ना गरी उपचार गर्न संघिय सरकार आफैले सम्झौता गर्ने तयारी गरेकोले तत्कालको लागि आईसियू र भेन्टिलेटरको अभाव नहोला,’ पन्थले भने ।
रुपन्देहीमा संक्रमितहरुको लागि आईसियू र भेन्टिलेटरसंगै अक्सिजनको समेत अभाव हुनसक्ने देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना विशेष अस्पतालमा गरि दैनिक एकसय देखि डेढसय सिलिण्डर सम्म अक्सिजन खपत भईरहेको छ । ‘अक्सिजन सहितका ३६ वटा बेड संचालनमा आएपछि र संक्रमित थपिएपछि अक्सिजनको खपत पनि थपिदै जान्छ’ उनले भने । (स्रो.सेतोपाटीअनलाईन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *