नेपालगन्ज, ४ वैशाख – बाँकेको कोहलपुरमा यात्रुबाहक बस र टिपर एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परि ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका असई शेरबहादुर बारघरेका अनुसार दुर्घटनामा परि ज्यान गुमाएका मध्य अन्दाजी ३२ वर्षीया महिलाको शनिबार बिहान सनाखत भएको छ ।
उनी सिराहा जिल्लाको सुखीपुर गाउँपालिका वडा नं. ३ की अम्बिका कान्ती रहेको खुल्न आएको असई बारघरेले सेतोपाटीलाई जानकारी दिए । कान्ती शिक्षाका लागि खाद्य कार्यक्रम सुर्खेतमा कार्यरत कर्मचारी रहेको भन्ने खुल्न आएको पनि बारघरेले जानकारी दिए ।
यसअघि शुक्रबार राति अवेर मृतकमध्ये चार जना पुरुषको सनाखत भइसकेको थियो । जसमा कोहलपुर नगरपालिका वडा नं. १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत जिल्लाको साटाखानीका ४० बर्षीय जिवनकुमार बिक र झापा जिल्लाको मेचिनगरपालिका वडा नं. १० का ४५ का छत्रबहादुर कटुवाल थिए ।
मृतकमध्ये कोहलपुरका दुई जना टिपरका चालक र परिचालक रहेको प्रहरीले जनाएको छ । मृतक अन्य तीन जना बसमा सवार व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो ।
फाईल फोटो
दुर्घटनामा परि कुल ३७ यात्रु घाइते भएकोमा ७ जनाको अवस्था गम्भीर रहेको भए पनि शनिबार बिहानसम्म सबैको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जानकारी दिइएको छ ।
घाइतेको उपचारमा संलग्न चिकित्कसका अनुसार सबै घाइते अब खतरा मुक्त छन् । घाइते सबैको कोहलपुरमै उपचार भइरहेको छ ।
सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस र विपरित दिशातर्फ जाँदै गरेको ना अ अ प ४१ नम्बरको टिप्पर शुक्रबार बेलुका साढे पाँच बजेतिर कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।
तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।