नेपालगन्ज, १६ माघ – आफुलाई विकासप्रेमी, जनताप्रति समर्पित भनी चिनाउने वडाअध्यक्षदेखि मेयर र उपमेयरसम्मले चिसोमा वडादेखि उपमहानगरपालिका भित्र के कस्तो व्यवस्था गरेका छन् भनी प्रश्न गर्दा सबैको राजनीतिक भाषामा नै भनाई आएको पाईन्छ । भोट माग्दा सबथोक गरिहाल्ने बाचा गरि विजय भएका जनप्रतिनिधिहरुले आवश्यक पर्दा राजनीतिक भाषणमा मात्र सीमित भएकै कारण आम जनतालाई दुःखको सामना गर्नु परेको यथार्थ कसैबाट लुकाउन सक्ने अवस्था देखिन्न ।
विगत १५ दिन देखि लगातार बढ्दै गएको चिसो र बिचबिचमा कहिले काही देखा परेको घामको मारमा पीडित रहेका उपमहानगरबासीहरुको पीडा कसले सुन्ने र समाधान गर्ने भनेर चिन्ता लिनुपर्ने स्थानमा जनप्रतिनिधिहरुले कार्यालयको एसी रुपमा बसी तातो हावा खांदै मिठामिठा कुरा गर्न मात्र सिपालु छन् भनी आम बुझाइ रहेको पाईन्छ ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणासित १० दिन अगाडी चिसो बढेको बेला के व्यवस्था गर्नु भएको भनी जानकारी माग्दा उपमहानगरबाट ५ लाख बजेट विनियोजित गरि चोकचोकमा वडामार्फत दाउराको व्यवस्थापन गरिएको, ज्येष्ठ नागरिकलाई न्यानो कपडाको व्यवस्थापन गरिएको जस्तो चिल्लो भनाई राखेका थिए । तर आज यस सन्दर्भमा कुरा गर्दा उपमेयर ज्यूलाई यसबारे जानकारी लिनुस् भनी जवाफ फरकाउनु भयो ।
यसैबारे उपमेयर उमाथापा मगरसित जानकारी माग्दा उहाँ समेत सोही अनुसार ध्यू लगाई चिल्लो कुरा बाहेक थप केही दिन सक्नु भएन् । उपमेयर थापाको भनाई अनुसार जिल्ला वन कार्यालयलाई पत्र पठाईएको छ, उसले आज–भोली भनी जावफ दिइएको हुँदा अब आजभोलि मै व्यवस्था हुने आशा रहेको बताउनुभयो । उहाँले प्रत्येक वडालाई ज्येष्ठ नागरिकको लागि ज्येष्ठ नागरिक सम्मान, न्यानो कपडालगायतको व्यवस्थापनको लागि समेत भनि सकिएको तर्क राख्नुभयो ।
यसैबारे वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंहसित जानकारी माग्दा हामीले नगरपालिकालाई भनेको छौं, अब छिट्टै दाउराको व्यवस्थापन गरिनेछ । तर नागरिक सम्मान र न्यानो कपडा बारे वडामा बजेट नभएको तर्क राखेर थप कुरा म आफै उपमेयर ज्यूसित जानकारी लिन्छु भनी जवाफ दिनुभयो ।
यसैबारे वडा नं. ४ का वडाअध्यक्ष सफिक बेहनासित जानकारी माग्दा उहाँले विभिन्न समस्या हुने भएको हुँदा तत्काल दाउराको व्यवस्थापनमा ढिलो भएको तर व्यवस्थापन गरिन्छ । त्यसको लागि समन्वयन भई रहेको तर्क दिनुभयो ।
वडाअध्यक्ष बेहनाले आफ्नो वडामा २०० बढी ज्येष्ठ नागरिकहरुलाई रु. ६००।– का दरले साल र नगद रु.१०० गरी वितरण समेत गरिएको बताउनुभयो । आउने दिनमा विशेष गरी महिलाहरुको लागि निःशुल्क पाठेघर, मधुमेह लगायतको रोगका लागि चेकजांच र औषधि वितरण गरिने र सोको लागि वडाबाट २ लाख बजेट विनियोजित भई बाल नारी विकासमार्फत समन्वयन भई रहेको बताउनुभयो ।
यसैबारे वडा नं. १८ का वडाअध्यक्ष दिपककुमार बर्मा (जो आर्थिक रुपमा उपमहानगरपालिकाबाट नं. १ को उपाधिले सम्मानित भई सकेका छन् ।) सित जानकारी माग्दा ‘म मिटि·मा छु, पछि कुरा गर्ने’ भनी कुरा नै गर्न चाहनु भएन ।
यसैगरी यसबारे वडा नं. १४ का वडाअध्यक्ष ओमकारनाथ मिश्रासित जानकारी माग्दा उहाँले कोरोनापछि हालसम्म यस वडामा कुनै काम नभएको कुरा बताउँदै पैसा छ, व्यवस्था गर्ने हो तर हाल लेखापाल नभएको हुँदा केही गर्न सकिएको छैन । दाउराको लागि उपमहानगरपालिकासित समन्वय भईरहेको जानकारी गराउँदै यस वडामा ज्येष्ठ नागरिक सम्मान गर्ने वा न्यानो लुगा वितरण गर्ने बारे आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।
यसैगरी, यसबारे वडा नं. ७ का विकासप्रेमी वडाअध्यक्ष जुम्मन खाँसित जानकारी माग्दा उहाँले हाल ज्येष्ठ नागरिक बारे कुनै निर्णय नगरिएको, बजेट समेत विनियोजित नभएको जानकारी गराउँदै दाउराको लागि उपमहानगरपालिकाबाट पहल गरी एक–दुई दिनमा व्यवस्था गराउनु बताउनुभयो ।
माथि उल्लेख गरिएका भनाईहरु जस्ताको त्यस्तै रहेको छ । यी भनाई हाम्रा प्रिय जनप्रतिनिधिहरुको हो । यसबाट प्रष्ट हुन्छ उनीहरुले आम वडाबासी वा नगरबासीहरुको चिन्ता कति सम्म लिने गरेका छन् । चिन्ता धेरै छ तर गर्ने के चिसो पनि धेरै भएको हुँदा अफिसको तातो कोठाभन्दा बाहिर निस्केर काम गर्ने सोच नभएको पाईन्छ ।
अब आउने दिन आम सर्वसाधारण जनताले आफै विचार गर्नु पर्ने होइन र ? हामीले कस्तोलाई आफ्नो जिम्मेवारी सुम्पेका रहेछौं ? सबैले अब आउने समयमा विचार गर्ने हो की ?
हाल गरिएको कुराकानीमा वडाका जनप्रतिनिधिहरुले उपमहानगरपालिकामाथि टार्ने कार्य गरेको पाईन्छ भने उपमहानगरपालिकाका जिम्मेवार पक्षले समेत वडालाई टार्ने कार्य गरेका छन् । जनता सर्वसाधारण उपमहानगरबासी जनता प्राकृतिक चिसोको मारमा छन् ।
यसबारे नगरबासीहरुले समेत विभिन्न प्रश्न उठाएका छन् । जसको जवाफ यी विकासप्रेमी, न्याय प्रेमी, जनताप्रेमी जनप्रतिनिधिहरुले दिनु पर्दछ । के यिनलाई पाल्न कै लागि जनताले छानेका हुन त ? यिन को चिल्लो कुराको लागि मात्र भोट गरेका थिए त ? विनियोजित गरिएको ५ लाख बजेट बैंकमा थन्काउनका लागि छुट्टाइएको हो त ? होइन भने काम गर्ने श्रमिक सराह खुरु खुरु आम नागरिकको पीडामा मलम लगाउने काम गर्दा बेला हुने होइन र जनप्रतिनिधि ज्यू ? भनी प्रश्न रमेश लखेरले गरेका छन् ।