
नरेनापुर, ५ माघ – नरैनापुर गाउँपालिकाले अनलाइन व्यक्तिगत घटना दर्ता कार्यलाई तिब्रता दिएको छ । व्यक्तिगत घटना दर्ता प्रणालीलाई व्यवस्थित गर्न पौष १७ गतेदेखि वडा नम्बर ४ वाट शुरुवात गरेको कार्यलाई निरन्तरता दिँदै आज १ नम्बर वडामा पनि अनलाइन व्यक्तिगत घटना दर्ता सुरु गरिएको छ ।
आज सोमवार नरैनापुर गाउँपालिका–१ को राम किशोर बडहीको छोरी सनुपा बडही तथा रामपाल बारीको छोरी निशुकुमारी बारी सहित ३ जनाको जन्म दर्ता गरेर अनलाइन व्यक्तिगत घटना दर्ता गरिएको वडा नम्बर १ का सचिव तथा गाउँपालिकाका सुचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए ।
अनलाइन व्यक्तिगत घटना दर्ताले गर्दा काम छिटो छरितो हुने, अभिलेखीकरणमा सहजता आउने, च्यातिने हराउने जतिबेलाबाट नष्ट हुने सम्भावना कम रहने तथा माथिल्लो निकायले पनि खोजेको बेला सजिलै हेर्न सकिने भएको हुनाले यो प्रक्रिया अति प्रभावकारी रहेको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए ।
१ नम्बर वडामा गरिएको अनलाईन घटना दर्ताहरुको प्रमाण पत्र स्थानीय पंजिकाधिकारी एवम वडा सचिव लक्ष्मीकान्त मिश्रा को हस्ताक्षर बाट जारी गरिएको थियो भने कार्यक्रममा गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, वडा अध्यक्ष मोल्हे बेहना शेष, वडा सचिव लक्ष्मीकान्त मिश्र, पंजिकरण शाखा का जयप्रकाश पाठक, गोबिन्द गोडिया, हंशराज विश्वकर्मा, सुजितकुमार तिवारी, वडा सदस्य जकि खां सहायक कम्युटर आपरेटर आरिफ खां लगायतको सहभागिता रहेको थियो ।


