
बागलुङ, ११ पौष – राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जि.सी.ले सहकारीका सदस्यहरुलाई उत्पादनमा र सहकारी संस्थालाई संकलन र बजारीकरणमा लगाउनु पर्नेमा जोड दिनुभएको छ ।
काठेखोला गाउँपालिका वडा नं. ७ स्थित रेश साना किसान कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभाको शुक्रवार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।
स्थानीय सरकार र वडा कार्यालयहरुसंगको सहकार्यमा सहकारीका सदस्यहरुलाई उत्पादनका लागि आवश्यक सहयोग गरी उत्पादनमा केन्द्रीत गराउने र उनीहरुले उत्पादन गरेका वस्तुहरुको संकलन र बजारीकरण वडा कार्यालय र सहकारी संस्था मिलेर गर्नु पर्नेमा उहाँको जोड थियो ।
सहकारीले आम समुदायलाई आयआर्जन र वचत गर्न सिकाएको भन्दै उहाँले सहकारीमा रहेको पूँजिलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगाउनु पर्नेमा जोड दिनुभयो । उद्देश्य अनुसार काम गर्ने भन्दा पनि सबै खालका सहकारीहरु बचत तथा ऋणमा केन्द्रीत भएकाले सहकारी क्षेत्रले सोच जति उपलब्धी गर्न नसकेको भन्दै जिसीले सहकारीहरुको पहिलो काम आफ्नो उद्देश्य अनुसारको हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. ७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले कृषि क्षेत्रलाई व्यवस्थित बनाउन वडा कार्यालय र सहकारी समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले किसानहरुलाई उत्पादनमा केन्द्रीत गर्न र उनीहरुको उत्पादनलाई व्यवस्थापनका लागि सहकार्य गरेर अगाडि बढ्न वडा कार्यालय तपार रहेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य कृष्ण थापा, रेश मोटरबाटो समितिका अध्यक्ष दानबहादुर जिसी, माहुरी झरना सामुदायिक होमस्टेका अध्यक्ष भक्तबहादुर कुँवर, संस्थाका उपाध्यक्ष उजेली शर्मा, महिला समुहका देवी कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा अध्यक्ष यामबहादुर कार्कीले प्रगति तथा आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक कविता थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष यामबहादुर कार्कीको अध्यक्षता र सदस्य प्रेम कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा रेशमा जन्मिएर सहकारी क्षेत्र क्रियाशिल भई समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीलाई सम्मान गरिएको थियो । गत आर्थिक वर्षमा संस्थामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई पनि सो अवसरमा पुरस्कृत गरिएको थियो ।
