Monday, April 27सत्यम खबर
Shadow

बालबालिकालाई चिसोबाट कसरी जोगाउने ?

यतिखेर जाडोको मौसम छ । गर्मीसँग खेलिरहेको शरीर एकै पटक जाडोमा घुलमिल हुन निकै गाह्रो
हुन्छ । मौसम परिवर्तन हुने बेलामा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बच्चालाई चिसोले छिटो समात्ने गर्छ ।
मौसम परिर्वतन हुँदा बालबालिकामा विभिन्न समस्या देखिन्छन् । गर्मी सकिएर जाडो सुरु हुँदा बच्चामा पखला लाग्ने, रुघा लाग्ने, सिँगान बग्ने, खोकी लाग्ने, घाँटी दुख्ने, आँखामा कचेरा आउने, आँखा रातो हुने जस्ता समस्या देखिने गर्छन् ।

सुरक्षा सुवेदी


यस्तो समस्या देखिँदा धेरै आमाबुबा कतै आफ्नो बच्चालाई कोरोना भाइरसको संक्रमण त भएन भनेर आशंका पनि गर्नुहुन्छ । तर जाडोमा बच्चामा
यस्तो समस्या देखिँदैमा कोरोना भयो भनेर आत्तिइहाल्नु पर्दैन । चिसो मौसममा यस्तो समस्या देखिनु सामान्य नै हो । यो बेला बालबच्चालाई मौसमी फ्लुले समाएको हुनसक्छ । सामान्यतयाः मौसमी फ्लु ७ दिनसम्म निको हुँदैन । त्यसपछि विस्तारै निको हुँदै जान्छ ।
यस्तो समस्या देखिँदा औषधिले रोगसँग लड्न सक्ने क्षमता घट्दै जाने हुँदा सकेसम्म घरेलु उपचारविधि अपनाउँदा राम्रो हुन्छ । घरेलु उपचारका लागि नुनपानी, बेसारमा तुलसी पत्ताको पकाएर खुवाउने, तातोपानीमा मह, अदुवा पकाएर खुवाउन सकिन्छ । अलि ठूलो भएका बच्चालाई बाफ लिन लगाउनुपर्छ, जसले गर्दा कफ निकाल्न सहयोग गर्छ ।
बच्चालाई चिसोबाट जोगाउन बिहान उठ्नासाथ अदुवा, मरिच, ल्वाङ, सुकुमेल राखेर कालो चिया खुवाउनुपर्छ । सुत्ने बेलामा तातो दूधमा बेसार हालेर दिनुपर्छ र तातोपानीमा मह मिसाएर खुवाउँदा पनि चिसोबाट बचाउन सकिन्छ ।
घाम लागेको बेलामा सबै कपडा खोलेर तोरीको तेलले मालिस गर्दा चिसो लाग्ने सम्भावना कम हुन्छ । घाममा राखेर तेल लगाउनु भनेको चिसोबाट जोगाउने सबैभन्दा ठूलो औषधि हो । चिसो मौसममा दिनभरिको घाममा राख्न बच्चालाई धेरै फाइदा हुन्छ ।
घाममा बस्दा शरीरको पानी सोच्ने हुँदा शरीर सुख्खा हुने, चिलाउने डायरिया हुने जस्ता समस्या देखिन सक्छन्, त्यसैले घाममा राखेपछि बच्चालाई प्रशस्त मात्रमा मनतातो पानी पिउन लगाउनु पर्छ । घाममा बसेर सुन्तला, बदाम खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । सुन्तलामा पानीको तत्व, भिटामिन सी हुन्छ । यसले रुघाखोकी विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ । चिसो मौसममा सुन्तला र कागती उपयुक्त मानिन्छ । साथै बदाम, बेसारले शरीर तताउन सहयोग गर्छ ।
चिसोको समयमा हिटरको प्रयोग गरिन्छ।सकेसम्म हिटरको प्रयोग नगरेकै राम्रो हुन्छ । दिउँसो बच्चालाई घाममा राखेपछि बेलुका हिटर बाल्नु पर्दैन । हिटरबाट निस्कने कार्बनडाइअक्साइडले श्वासप्रश्वासमा समस्या निम्त्याउँछ ।
साथै चिसोको समयमा तातोको लागि धेरै जनाले कोइला बाल्ने गरेको पनि देखिन्छ । कोइलाबाट निस्केको धुँवाले श्वासप्रश्वास समस्या आएर बालबालिका निस्सासिने हुँदा सकेसम्म बाल्दै नबाल्ने, यदि बाल्नु नै परेको खण्डमा खुला ठाउँमा बाल्नु उपयुक्त हुन्छ ।
चिसो समयमा झ्यालढोका सबै थुनेर सुताउँदा निस्सासिएर बालबालिकाको निधन भएका थुप्रै घटना सुनिन्छन् । त्यसैले सुन्ने कोठमा गुम्म नबनाउने कोठाका भेन्टिलेटर खुला राखेर सुत्नुपर्छ ।
कसैकसैले जाडो हुन्छ भनेर धेरै कपडा लगाउने गर्नुहुन्छ । त्यसो गर्दा बच्चाको शरीरमा पसिना आएर निमोनिया पनि हुनसक्छ । त्यसैले आवश्यक मात्रामा कपडा लगाइदिनुपर्छ । बच्चाको शरीरबाट पसिना निस्कने बेलामा बेलाबेलामा पसिना आएको छ कि छैन भनेर जाँच गर्नुपर्छ ।
राति सुत्ने समयमा तातो दूध खुवाउने हो भने रातभरको चिसोबाट बालबालिकालाई जोगाउन
सकिन्छ । राति सुत्दा ओढाएको कपडा बालबालिकाले फाल्ने हुँदा मोजा, पन्जा, टोपी, थर्मकोट लगाएर सुताउँदा राम्रो हुन्छ । बालबालिकालाई घाँटीमा डोरी बाँध्ने टोपी लगाएर सुताउँदा श्वासप्रश्वासमा गाह्रो हुने हुँदा यस्तो टोपी सकेसम्म नलाउँदा नै राम्रो हुन्छ ।
आमाको दूध खाने बच्चालाई चाडो मौसममा छिटोछिटो दूध खुवाउनुपर्छ । सानो बच्चालाई रुघा लागेपछि श्वास फेर्न गाह्रो हुने हुँदा रुघा लागेका मानिससँग टाढै राख्नुपर्छ । यदि जोगाउँदाजोगाउँदै पनि रुघा लागेमा साना बच्चालाई नाक थुनिन्छ । त्यस्तो बेलामा बच्चाको नाक नुनपानीले सफा गरिदिनुपर्छ । उनीहरुलाई एन्टिबायोटिक चलाउनु हुँदैन । रुघा लागेका बच्चालाई ठाडो पारेर सुताउनु पर्छ । टोपी, पन्जा, मोजा लगाएर न्यानो बनाएर राख्नुपर्छ ।
(बाल नर्सिङका विषयमा जानकार सुवेदीसँगको कुराकानीमा आधारित ।)
(स्रोतः स्वास्थ्यखबरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *