Monday, April 20सत्यम खबर
Shadow

बाँकेलगायत ७७ वटै जिल्लामा प्रतिनिधिसभा विघटनविरूद्ध जसपाको प्रदर्शन

नेपालगन्ज, ८ पौष – जनता समाजवादी पार्टी जसपा बाँकेले संसद विघटनको विरोधमा नेपालगन्जमा प्रदर्शन गरेको छ । सरकारको विरुद्धमा जुलुश गरेको जसपाका नेता तथा कार्यकर्ताहरुले असंवैधानिक कदम सच्याउन माग गरेका छन् ।
मंगलप्रसाद माध्यमिक विद्यालय (एमपी) बाट निस्केको जुलुस नाराबाजी गर्दै त्रिभुवनचोक हुँदै बिपि चौकमा पुगि कोण सभा गरेको थियो ।


कोणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री मो. ईस्तियाक राइले अदालतले निर्णय सत्याउनु पर्ने बताएका थिए । ‘देशलाई दुर्घटनाबाट बचाउन अहिलेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय सच्याउनु पर्दछ, अदालतले निर्णय नसच्याएको अवस्थामा हामी सबैले सडकबाट निर्णय सच्याउँछौं ।’ पूर्वमन्त्री राईले भन्नुभयो ।
पूर्वमन्त्री राईले ‘राजनीतिक रूपमा पनि उहाँले अत्यन्तै लोकतन्त्रविरोधी कदम चाल्नुभएको ठहरिन्छ’, उहाँले भन्नुभयो, ‘पार्टीभित्र पनि पार्टी निर्णय र पद्धतिविरुद्ध कम्युनिस्ट पार्टीको मान्यताको विरुद्धमा उहाँ सर्वसत्तावादी ढंगले चल्नुभएको छ, उहाँको कदम अत्यन्तै निन्दनीय छ ।’ ओलीको कदम राजनीतिक परिवर्तनलाई पछाडि धकेल्ने निर्णय भएको बताउनुभयो ।
उहाँले संबिधान विघटन गर्ने प्रधानमन्त्रीलाई कुनै अधिकार नभएको भन्दै उहाँले आक्रोस पोख्नुभयो । संबिधानले स्पष्ट दुई तिहाइको सरकारले संबिधान विघटन गर्न नपाउने उल्लेख गरेकाले प्रधानमन्त्रीले संबिधान विरोधी हर्कत गरेको आरोप समेत लगाउनुभयो ।
नेता कमरुद्दिन राइले संबिधानमाथि प्रहार गर्ने यो खेलविरुद्ध एक भएर आन्दोलन गरिने चेतावनी दिनुभयो । संघीयता र गणतन्त्रलाई धरासायी पार्ने काम कसैबाट हुन नहुने भन्दै त्यसो गरिए फेरी सशक्त आन्दोलन गरिने नेता राईको भनाइ थियो ।


नेपालगन्जमा सम्पन्न गरिएको कोण सभामा नेता कमरुद्दीन राई, अम्बिका काफ्ले, हिक्मत विक, सम्सुल हक राई, राजन राना मगर, बेबि तबस्सुम, रमारानी वैश्य, फैज हैदर, माजिद अलि शेषलगायत नेता तथा कार्यकर्ताहरुले सरकारको गलत निर्णयलाई सच्याउनुपर्ने बताएका थिए ।
यसैगरी, जनता समाजवादी पार्टी नेपालले ७७ वटै जिल्ला सदरमुकामहरूमा आज बुधबार प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा जसपाले ७७ वटै जिल्लामा प्रदर्शनसहित कोणसभा गरेको बाँके स्रोतले जनाएका छन् ।
जसपाले पुस १२ गतेसम्म विभिन्न कार्यक्रम गरी प्रधानमन्त्री ओलीको कदमविरूद्ध आन्दोलन जारी राख्ने जसपा नेता कमरुद्दीन राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *