काठमाण्डौ, ४ पौष – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच दुई बुँदे समझदारी भएको छ ।
शनिबार अपरान्ह देउवा निवास बुढानिलकण्ठमा दुई पार्टीका शीर्ष नेताबीच भएको भेटमा दुई बुँदे समझदारी भएको बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।
दुई पार्टीबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड–१९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो ।
शनिबार दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राजेन्द्र महतो देउवालाई भेट्न उनको निवास बूढानिलकण्ठ पुगेका हुन् । त्यहाँ कांग्रेसका शीर्ष नेता पनि सहभागी भएका थिए । (सेतोपाटी)