विभिन्न स्वास्थ्य समस्या पत्ता लगाउन रगत परीक्षण गरिन्छ । रगत निकालेको ठाउँमा कसैकसैको निलडाम बस्ने, डल्लो निस्कने गर्छ । त्यस्तो किन
हुन्छ ? यस्तो हुन नदिन केके गर्न सकिन्छ ?
सर्वप्रथम त रगत निकालेको ठाउँमा रातो हुन्छ । त्यसपछि निलो हुनसक्छ । त्यसपछि विस्तारै हरियो, पहेँलो हुँदै हराउँदै जान्छ ।
किन निलो हुन्छ ?
पहिलो त मानिसको नशा पातलो भएको या रगत तान्ने क्रममा नशा पत्ता लागेन र धेरै ठाउँमा घोच्नु प¥यो भने निलो हुने सम्भावना हुन्छ । अर्को कुरा रगत तान्ने क्रममा नशा ड्यामेज भयो भने हुनसक्छ ।
रगत तानिसकेपछि त्यो ठाउँमा राम्रोसँग थिचिएन भने पनि निलो हुनसक्छ । त्यसबाहेक मिर्गौला, कलेजो हिमोफोलिया सम्बन्धी रोग छ वा रगत पातलो बनाउने औषधि खाइरहेको छ भने पनि निलो हुनसक्छ । रगत सम्बन्धी रोगहरु छ, जसमा रगत जम्न समस्या छ भने पनि निलो हुने सम्भावना हुन्छ ।
यस्तो धेरैलाई हुन्छ । तपाईंमध्ये कसैलाई यस्तो भयो भने मलाई मात्र भयो कि भन्ने नसोच्नुहोला । हामी ल्याबमा काम गर्ने भएकाले यस्तो समस्या धेरैलाई हुने गरेको देखेका छौँ ।
यस्तो हुन नदिन के गर्न सकिन्छ ?
रगत तान्न जाँदा खुकुलो लुगा लगाएर जाने गर्नुपर्छ । रगत तान्ने बेला नशा पत्ता लागेन भने पछिल्लो पटक कहाँबाट तानिएको थियो त्यहीँबाट तान्दा धेरै ठाउँमा घोच्न पर्दैन ।
रगत तानेपछि रगत नबगोस् भनेर एक, दुई मिनेट थिच्नुपर्छ । यदि रगत बग्ने समस्या छ भने ५ मिनेट जति नै थिच्नुपर्छ ।
पहिलापहिला रगत तानिएपछि मुठ्ठी खोल्नूस् र हातलाई खुम्च्याउनूस् भनिन्थ्यो तर आजकल यो विधिलाई प्रोत्साहन गरिँदैन । आजकल रगत तानेर मुठ्ठी खोल्नूस् भनेपछि त्यो ठाउँमा थिचेर हात सिधा राख्नूस् भनिन्छ ।
रगत निकालेको दिन सकेसम्म गह्रौं सामान नउचाल्नुहोला । र, त्यहाँ रातो हुन थाल्यो भने थिचेर हात माथि राख्नुहोला । धेरै नै रातो भयो भने आइस प्याकले १५ मिनेट जति सेक्नुहोला । यो दिनको २–३ पटक गर्न सकिन्छ ।
कहिलेकाहीँ त्यो ठाउँमा डल्लो निस्कियो वा रातो फैलँदै गयो, हात सुन्नियो भने चिकित्सकलाई देखाइहाल्नुहोला ।
(डा गौतम सम्यक डाइग्नोष्टिकका अध्यक्ष हुन् ।) (स्रोतः स्वास्थ्यखबरबाट)