काठमाडौं, २९ मंसिर – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै कराउने हिम्मत कहाँबाट आयो भन्ने प्रश्न गरेका छन् ।
प्रजातन्त्रका लागि लडिरहेका बेला राजाले आफूलाई थुनेर राखेको प्रसंग निकाल्दै उनले राजा फर्केर आउने भ्रम नराख्न आग्रह गरेका छन् ।
सरकारविरूद्ध मकवानपुरमा आज सोमबार भएको प्रदर्शनमा सभापति देउवाले भने, ‘राजा आऊ, देश बचाऊ भनेर कराइरहेका छन्, कहाँबाट हिम्मत आयो ?’
आफूले प्रजातन्त्रका लागि लड्दा राजाले थुनेर राखेको उनले बताएका थिए ।
‘राजाले त्यसबेला थुने । जेलमा मलाई राखे । अहिले राजा आऊ, देश बचाऊ भन्ने ?,’ देउवाले भने, ‘राजालाई कांग्रेसले पटकपटक ल्याएको पनि हो तर उनीहरू प्रजातन्त्रलाई देखिसहन्न । त्यसैले राजा आउने भ्रम नराख्नू ।’
उनले सडकमा राजाबारे प्रदर्शन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै जिम्मेवार रहेको आरोप लगाएका छन् ।
‘कम्युनिष्ट सरकारको कारणले नै राजा आऊ, देश बचाऊ भनिरहेका छन्। यसमा ओली सरकार जिम्मेवार छ,’ उनले भने, ‘कांग्रेस राजाका पक्षमा छैन ।’
उनले वर्तमान संविधान र व्यवस्था नै उपर्युक्त भएको बताएका छन् ।
‘संविधान कार्यान्वयन गर्ने र यही व्यवस्थालाई थप प्रजातान्त्रिक बनाउँदै सफल पार्ने हो,’ देउवाले भने ।