
पोखरा, १७ मंसिर – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल केहीदिन यता गृहजिल्ला तनहुँमा छन् ।
पौडेलले मंगलबारमात्र तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गरे । उक्त उद्घाटनप्रति नेकपा तनहुँले विरोध जनायो ।
विरोधका बाबजुद् पौडेलले जबरजस्ती उक्त पुल उद्घाटन गरेको नेकपाका स्थानीय नेताहरूले आरोप लगाए । पौडेलले बुधबार अर्को बुल्दीखोला पुल उद्घाटन गर्ने तयारी गरेका छन् ।

ब्यास नगरपालिकाका मेयर समेत रहेका तनहुँ कांग्रेसका सभापति बैकुण्ठ न्यौपानेका अनुसार पुल निर्माण उपभोक्ता समितिले उद्घाटनका लागि सबै निकायलाई पत्राचार गरिसकेको थियो ।
तर नेकपा तनहुँले उक्त पुल उद्घाटन गर्न नदिने भन्दै दमौलीमा प्रदर्शन गरेको छ । पुल उद्घाटन रोक्न भन्दै नेकपा निकट युवा संघको ब्यानरमा दमौलीमा विरोध जुलुस निस्किएको छ । कांग्रेसले जबरजस्ती गरेको भन्दै विरोध जुलुस निकालेको नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले बताए ।
प्रदेश सरकार मातहत बनेको उक्त पुल निर्माण गर्न रामचन्द्र पौडेलले विशेष योगदान रहेको तनहुँ कांग्रेस सभापति न्यौपाने बताउँछन् ।

‘पुलको उद्घाटन गरौं भनेको विरोध जुलुस निकाल्नुभयो’, न्यौपानेले भने, ‘नगरवासीले उद्घाटनको तर्जुमा गरिराख्नु भएको छ, हामी उद्घाटन गर्छौं ।’ उनका अनुसार पुलमा प्रहरी तैनाथ गरिएको छ ।
उक्त पुल वरिष्ठ नेता पौडेलकै पहलमा बनेको उनले दाबी गरे ।
‘यो पुल त्यतिबेला जिल्ला विकास समितिमार्फत् संघीय सरकारले बजेट राखेको हो’, उनले भने, ‘त्यतिबेलाकै सरकारले वरिष्ठ नेताको विशेष पहलमा पुल बनेको हो ।’ न्यौपानेले नेकपाले गुण्डागर्दी गरेको समेत आरोप लगाए ।
नेकपा र प्रशासन एकातर्फ लागेको आरोप लगाउँदै उनले गृहसचिवले समेत हस्तक्षेप गरेको दाबी गरे ।
झडपको स्थिति बनेपछि पुल भएको क्षेत्रमा निषेधाज्ञा जारी गरेको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर अचार्यले बताए ।

‘प्रदेश मातहतको पुल रहेछ’, सिडिओ आचार्यले भने, ‘प्रदेशको पूर्वाधार कार्यालयलाई नै जानकारी नगराई उद्घाटन गर्न लागेपछि कार्यालयले रोकिदिनु प¥यो भनेपछि हामीले उपभोक्ता समितिलाई उद्घाटन रोक्न पत्राचार गरेका छौं ।’
पुल उद्घाटनका विषयलाई लिएर दमौलीमा कांग्रेस र नेकपाबीच झडप हुने अवस्था आएको सिडिओ आचार्यले बताए । उनले बुल्दी पुल भएको क्षेत्रलाई अहिले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको बताए ।
यता, कांग्रेसले पनि पुल उद्घाटन गरेरै छाड्ने बताएको छ । ‘हामी १, २ बजेतिर उद्घाटन गर्न जान्छौं’, तनहुँ कांग्रेसका सभापति न्यौपानेले भने । (सेतोपाटी)
