
समिक्षा अधिकारी
काठमाडौं, ८ मंसिर –तिहारको रौनक भर्खरै सकियो । तिहारमा बनाएका सेलरोटी भने अझै धेरैका घरमा चियाको साथी बनिरहेका होलान् ।
यसको रमाइलो उदाहरण त सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ– सेलरोटी अहिलेको राष्ट्रिय खाजा, तिहारपछिका दिनमा पनि चियासँग यही खाजाको स्वाद लिइराख्न पाइयोस् भन्दै युवा राजनीतिज्ञ रञ्जु दर्शनाले सेलरोटी व्यवसाय पुनः सुरू गरेकी छन् । काठमाडौंका सेलरोटी पारखीलाई रञ्जुले घर–घरमै सेल पु¥याइदिने व्यवस्था मिलाएको उनले जानकारी दिइन् ।
रञ्जुले ०७४ सालमै आफ्नी आमाको सहयोगमा सेलरोटी पकाएर बिक्री गर्न थालेकी थिइन् । बीचमा कारणवश यसलाई निरन्तरता दिन सकिनन् । अहिले आएर फेरि उनी सेलरोटी व्यवसाय र प्रवर्द्धनमा अघि सरेकी हसन् ।

‘सेलरोटीसँग हामी धेरैको बालापन जोडिएको छ। मलाई त खुबै मनपर्ने परिकार हो । बनाउन पनि जानेकी छु,’ सेलरोटी व्यवसायबारे रञ्जुले भनिन्, ‘आफूले जानेको, मनपर्ने परिकारलाई व्यवसायकै रूपमा अघि बढाउने विचार गरेकी हुँ ।’
पछिल्लो समय उनले आफ्नी आमासँग मिलेर सेलरोटी बेचेकी थिइन् । आमाले रोटी बनाएको देखेरै उनी यतातिर आकर्षित भएकी हुन् । पिठो बनाउनेदेखि गोलो रोटी बनाउँदासम्म ध्यान दिनु पर्ने हुँदा उनी यो कामलाई कलात्मक नजरले पनि हेर्छिन् ।
‘आफन्तहरू मेरो ममीले राम्रो सेल पकाउन जान्ने भनेर तारिफ गर्नुहुन्थ्यो । मलाई पनि त्यस्तै हुन मन लाग्थ्यो,’ उनी भन्छिन्, ‘सबै प्रक्रिया हेर्दा र बुझ्दा राम्रो, मिठो सेल बनाउनु पनि एक किसिमको कला हो भन्ने बुझेँ ।’
यसपटक भने उनले ६ जना साथीहरूसँग मिलेर सेलरोटी व्यवसाय अघि बढाएकी छिन् । एउटा सेलको २५ रुपैयाँ तोकिएको छ । २० वटाभन्दा धेरै अर्डर गर्नेलाई घरमै डेलिभरीको व्यवस्था रहेको रञ्जुले बताइन् ।
‘२५ रुपैयाँ महँगो हो जस्तो लाग्दैन । धेरै अर्डर गर्नेलाई डेलिभरी सुविधा पनि छ । विवाह, पार्टी वा अन्य कार्यक्रमका लागि पनि अर्डर गर्न सकिन्छ,’ उनले भनिन् ।
रञ्जुका लागि राजनीति रूचि र सेवाको विषय हो । तर दैनिकी चलाउन व्यवसायमा अघि बढ्नुपर्ने उनको विचार छ । आफैंले जानेको र आफ्नो समुदायमा प्रिय खाजालाई व्यावसायिक रूप दिन आवश्यक रहेको उनी बताउँछिन् ।
‘केही वर्षअघि पनि व्यावसायिक रूपमा अघि बढाउन खोजेको हो । चुनाव र पार्टीलाई समय दिन परेकाले भ्याएकी थिइनँ,’ रञ्जु सुनाउँछिन्, ‘मेरो यो कामलाई जे अर्थ लगाए पनि हुन्छ । आफूले जानेको र स्थानीय खानालाई बजारमा ल्याउँदा यसको महत्व अझै बढ्छ ।’
सेलरोटी व्यवसाय पुनः चालू गरेको खबर उनले फेसबुक मार्फत् सार्वजनिक गरेकी हुन् । सञ्जाल प्रयोगकर्ताले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । धेरैबाट शुभकामना सन्देश पनि आइरहेको छ उनलाई ।
के व्यवसाय गर्ने भनेर अलमलमा परेकाहरूलाई सामान्य भए पनि आफूले जानेकै कामबाट सुरू गर्न उनको सुझाव छ । सानो लगानीमा सजिलै सुरू गर्न सकिने हुँदा काम थालिहालेको उनी बताउँछिन् ।
‘सुरुमा सबै कुरा सामान्य नै हुन्छन् । त्यसलाई कसरी ब्रान्ड बनाउने भन्नेतिर लाग्नुपर्छ,’ उनी भन्छिन्, ‘मैले पनि सामान्य काम थालेकी हुँ । सेलरोटी बनाउनु, बेच्नु ठूलो काम होइन । तर पनि धेरैले शुभकामना दिनुभएको छ । हौसला दिनुभएको छ। भोलिका दिनमा पक्कै राम्रो हुनेछ ।’
सेलरोटी व्यापार राम्रो हुँदै जाँदा तिहारमा खाइने अन्य परिकार पनि सदावहार बनाउने रञ्जुको योजना छ । घरमा सजिलै बनाएर खाइने, तर बजारमा सहजै नपाइने परिकार बनाउने उनीहरूको सोच हो ।
‘तिहारमा मात्रै खानुपर्छ भन्ने होइन, मनलाग्दा जतिबेला पनि खान सकिन्छ । त्यसैले हामीले पहल गरेका छौं,’ उनी भन्छिन्, ‘धेरै चाहिएको छ भने तीन दिनअघि खबर गर्नुहोला ।’
उनी अगाडि थप्छिन्, ‘खान मिठो र स्वास्थ्यलाई सजिलो बनाउने हाम्रो प्रतिबद्धता छ । बिस्तारै काठमाडौं बाहिर पनि डेलिभर गर्नेछौं ।’
(सेलरोटी अर्डर गर्न ९८४३७२३४५७ मा सम्पर्क गर्न सकिन्छ ।) (सेतोपाटी)
