
डुडुवा, ५ मंसिर – स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित रहेको बाँके डुडुवा गाउँपालिका वार्ड नंं १ कुड्वामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ । स्थानीय रामनरेश मौर्यले निशुल्क रुपमा उपलब्ध गराउनु भएको दुई कोठे घरमा स्थापना गरिएको इकाइको आज शुक्रबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उद्घाटन गर्नुभयो ।

उद्घाटन गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाले सञ्चालन गरेको घर घरमा स्वास्थ्य अभियानलाई सफल पार्न र सेवाबाट बञ्चित तथा पछाडी परेको समुदायलाई समेटने उद्देश्यले इकाई संचालनमा ल्याएको बताउनुभयो । उहाँले गाउँपालिका अन्तर्गत कुनै पनि समुदाय तथा बस्ती टोलका पछाडी पारिएका नागरिकलाई सेवाबाट बञ्चित नगराई प्रभावकारी सेवा प्रदान गर्ने योजना अनुरुप अघि बढेको बताउनुभयो । अध्यक्ष चौधरीले गाउँपालिकाको वार्ड नं ५ मा पनि केही बस्तीमा स्वास्थ्य इकाइ स्थापना गर्ने बताउनुभयो ।

कुडवाका नागरिकहरु राप्ती नदी वारपार गरेर हालिया र नरैनापुर गाउँपालिकाको गंगापुर स्वास्थ्य चौकीबाट सेवा लिदै आएका थिए । स्वास्थ्य सेवा इकाइ संचालनमा आएपछि उक्त समस्याको अन्तय हुने स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो ।
उहाँका अनुसार सोही स्थानमा बालबालिकाहरुका लागि खोप केन्द्र संचालन गर्न भवन समेत निमार्ण भइरहेको छ । इकाइबाट सो बस्तीका करिब ९० घरपरिवार प्रत्यक्ष लाम्भावित हुने गाउँपालिकाले जनाएको छ ।

इकाईमा औषधी सहित दुई जना स्वास्थ्यकर्मी परिचालन गरि सेवा आजैबाट शुरु गरिएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष पटेश्वर कुर्मी, कार्यपालिका सदस्य लिलावती यादव लगायतको उपस्थिती रहेको थियो ।
