
नेपालगन्ज, ५ मंसिर – नेपाली काँग्रेसका सह–महामन्त्री एवम कोभिड–१९ अनुगमन समितिका केन्द्रिय संयोजक डा. प्रकाश शरण महत नेपालगन्ज आउने भएका छन् ।
भेरी अस्पतालमा शनिबार हुन लागेको प्लाज्मा दान कार्यक्रममा डा. महत आउन लागेका हुन् । नेपाली काँग्रेसले जिल्ला स्तरमा देशभर कोभिड–१९ अनुगमन समिति गठन गरेको छ । समितिले गर्न लागेको कार्यक्रममा पुर्व परराष्ट्र एवम् अर्थमन्त्री समेत रहेका डा. महत प्रमुख अतिथिका रुपमा आउन लागेको बाँके अनुगमन समिति संयोजक लक्ष्मीनारायण शाहले बताए ।

बाँकेको कोभिड–१९ अनुगमन समितिले कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने उद्देश्यले शनिबार भेरी अस्पतालमा प्लाज्मा दान कार्यक्रम गर्ने तयारी गरेको छ ।
नेपाली काँग्रेस बाँके कोभिड–१९ अनुगमन समिति संयोजक शाहले कोरोना संक्रमितको उपचारमा प्लाज्माको अत्याधिक माग भएपनि अभाव भएकोले कार्यक्रम गर्न लागेको बताए ।
उनले भने, ‘पार्टीले कोरोना भाइरसको व्यवस्थापनको अनुगमन गर्नका लागि समिति बनाएको हो । तर हामी अनुगमनसँगै कोरोना रोगले पारेको प्रभाव र असरलाई कम गर्नपनि सहयोग गरिरहेका छौं । अरुको ज्यान बचाउनका लागि प्लाज्मा दान गर्नुपर्छ भन्ने पनि सन्देश दिन खोजेको छौं ।’
संक्रमितको उपचारमा प्लाज्माले धेरैलाई फाइदा भएपनि प्लाज्मा दान गर्नेको संख्या कम भएको शाहले बताए । प्लाज्मा दान गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्दैन भन्ने सन्देश दिनको लागी पनि शनिबार प्लाज्मा दान कार्यक्रम गर्न लागेको नेपाली काँग्रेसका नेता शाहले बताए ।
शुक्रबार समितिले भेरी अस्पताल नेपालगन्जमा प्लाज्मा दान गर्ने व्यक्तिको निशुल्क रुपमा पिसिआर र ‘एन्टी बडी’ परीक्षण गर्दैछ ।
शुक्रबार गरिने परीक्षणको रिर्पोट अनुसार प्लाज्मा दान गर्नेको संख्या निश्चित हुने शाहले बताए ।
