
नेपालगन्ज, २८ कार्तिक – भेरी अस्पताल नेपालगन्जमा २० रुपियाँमा पेटभरी खाना खुवाउँदै आएको श्री सुन्दर काण्ड मित्र मण्डललाई नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार ५० हजार रुपियाँ हस्तान्तरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा मित्र मण्डलले खाना खुवाउँदै आएको छ ।

मित्र मण्डलका संरक्षक समाजसेवी विजय गुप्तालाई नगर प्रमुख डा. धवलशम्शेर राणाले सहयोगको चेक हस्तान्तरण गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिकाले २० रुपियाँमा खाना खुवाउने कार्यलाई निरन्तरता दिन मासिक ५० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरे अनुसार शुक्रबार पहिलो पटक सहयोग हस्तान्तरण गरिएको हो ।
विपन्न ब्यक्ति तथा अस्पतालमा उपचाररत विरामी र कुरुवालाई लक्षित गरी २० रुपियाँमा खाना खुवाउन थालिएको मित्र मण्डलले जनाएको छ ।
अस्पताल परिसरमा शनिबार बाहेक हरेक दिन बिहान १० देखि १ बजेसम्म खाना खुवाउने कार्य चलिरहेको छ । अन्य खर्च मित्र मण्डलले सहयोगीदाता लगायतबाट ब्यवस्थापन गर्दै आएको छ । २० रुपियाँमा दाल, भात, तरकारी र शुद्ध पिउने पानी उपलब्ध गराउने गरिएको छ ।
