
नेपालगन्ज, २८ असोज – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुको आ २०७६÷७७ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधबार सम्बोधन गर्दै प्रमुख राणाले नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य शाखा र स्वास्थ्यकर्मीले कोरोना महामारीका समयमा उत्कृष्ट काम गरेको बताउनुभयो ।

“महामारीको समयमा कुनै गुनासो नगरि काममा खटिनुभयो,” डा. राणाले भन्नुभयो– “व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर तपाईहरुले जनहितमा गर्नुभएको कार्य आफैमा महान छ । उहाँले कोरोनासँगै अन्य रोगहरु फैलिन नदिनका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।”
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले लगायतले विगतका त्रुटी सच्चाउँदै भविष्यको बाटो देखाउने गरि समीक्षा गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले विगतको कार्यक्रमको उपलब्धी र त्रुटीमा छलफल भई तथ्यमा आधारित भई आगामी योजना बनाउने उद्देश्यले समीक्षा गोष्ठी आयोजना गरिएको जानकारी दिनुभयो ।
