
नेपालगन्ज, ८ फागुन – नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर पौष १९ गते सम्पन्न भएको आज तेस्रो महिना हुन लागेको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणका अवसरमा दुई देशबीच हस्ताक्षर उक्त सम्झौतामा हस्ताक्षर सम्पन्न भएको थियो । उक्त सम्झौतामा १० वर्षमा नेपाल–भारतबीच विद्युत व्यापार सम्बन्धी विस्तृत एक्सन प्लान उमिटिएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिएका छन् । प्रवक्ता सिंहका अनुसार सम्झौतामा विद्युत व्यापारका लागि आवश्यक पूर्वाधार विस्तार लगायत विषय पनि समेटिएको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण क्रममा (२ जुन २०२३) नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापारको प्रारम्भिक सम्झौता भएको थियो ।
उक्त सम्झौतालाई मूर्त रूप १८ जुन २०२३ मा ऊर्जा सचिव दिनेशकुमार घिमिरे भारत गएका थिए । त्यसबेला नयाँदिल्लीमा सम्झौता पत्रमा हस्ताक्षर गरिने कार्यक्रम राखिएको थियो । तर त्यहाँको मन्त्रि परिषदबाट सम्झौता स्वीकृत नभएका कारण हस्ताक्षर हुन सकेको थिएन ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता भएको घोषणा गर्दै १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने बताएका थिए ।

‘अहिले हामी नेपालबाट ४५० मेगावाट बिजुली आयात गरिरहेका छौं । मैले र प्रधानमन्त्री प्रचण्डले हाम्रो सम्बन्धलाई सुपरहिट बनाउन महत्त्वपूर्ण निर्णय लिएका छौं,’ मोदीले सम्झौताबारे भनेका थिए ।
त्यति बेलै सम्झौतामा हस्ताक्षर हुनु पर्नेमा भाषणमा मात्रै विद्युत व्यापारको कुरा भएको भन्दै आलोचना भएको थियो । प्रधानमन्त्री प्रचण्डले भने महत्त्वपूर्ण दूरगामी सम्झौता भएको बताउँदै आएका थिए ।
सरकारले अहिले गेमचेन्जर, ठूला जलविद्युत अयोजनाहरूमा ध्यान केन्द्रित गरिरहेको उल्लेख गरेको छ । केही दिनअघि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत, बंगलादेश र चीन समेत हाम्रो विद्युत व्यापारका साझेदार बन्न तयार भएकाले ठूला आयोजना विकासमा जोड दिएको उल्लेख गरेका थिए ।
पछिल्लो एक वर्षमा ७०० मेगावाटसम्म बिजुली निर्यात गरी १५ अर्ब रूपैयाँ २७ करोड विदेशी मुद्रा आर्जन गरिएको सरकारको आँकडा छ ।
अहिले नेपालको विद्युत उत्पादन क्षमता २८ सय ९२ मेगावाट पुगेको छ । करिब ५४१ मेगावाट यहि वर्षमा मात्रै थप भएको हो ।
भारतले गत वर्षदेखि मात्रै नेपालबाट बिजुली लैजान सुरू गरेको छ । अहिले नेपालले भारतीय बजारमा ५०० मेगा वाटभन्दा बढी बिजुली बिक्री गर्ने अनुमति पाएको छ ।
