
नेपालगन्ज, २४ पौष – नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध ई–रिक्सा नष्ट गर्न सुरु गरेको छ । लामो समयदेखि इ–रिक्सा व्यवस्थापनमा लागेको नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका ई–रिक्सा नष्ट गर्न सुरु गरेको हो ।

मंसिर १९ गतेदेखि अवैध ई–रिक्सा नियन्त्रण अभियान थालेको नेपालगन्ज उपमहानगरपालिकाले आज ५ वटा ई–रिक्सा नष्ट गरेको छ ।
आवश्यक कागजात नभएका ती ई–रिक्सा प्राविधिक जाँच गरी नष्ट गरिएको हो । भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरको ई–रिक्सा जेसिबीले नष्ट गरेको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशिल शर्माले ई–रिक्सा धनी/चालक कै अगाडि कागजात अद्यावधिक भए÷नभएका, चेसिज नम्बर मिले÷नमिलेको वा भए÷नभएको प्राविधिक जाँच गर्नु भएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा नियन्त्रण गर्नुअघि पटक–पटक प्रक्रिया पु¥याउन आग्रह गरेको थियो । नियन्त्रणमा लिइ सकेपछि पनि १५ दिने सूचना जारी गरेर ई–रिक्सा अद्यावधिक गर्न समय दिइएको थियो । नगर प्रमुख प्रशान्त विष्टले नगरमा अवैध ई–रिक्सा गुड्न पूर्ण रूपमा प्रतिबन्ध लगाउने अभियानमा नेपालगन्ज उपमहानगरपालिका दृढ भएर लागेको बताउनुभयो ।
“हामीले पटक–पटक भनेको हौं, अद्यावधिक गर्न समय पनि दिएका थियौं, नियन्त्रणमा लिइएका धेरै ई–रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छोडेका छौं, अवैध ई–रिक्सा हामीले नष्ट गर्न सुरु गरेका छौं,” नगर प्रमुख विष्टले भन्नुभयो– “अब हामी निरन्तर अगाडि बढ्छौं, नीति नियम र कानुन भन्दा बाहिर गएर चल्ने छुट कसैलाई छैन ।”
नेपालगन्ज उपमहानगरपालिकाले हालसम्म ६२३ ई–रिक्सा नियन्त्रण लिएको छ । ती मध्ये आवश्यक कागजात र प्रक्रिया पु¥याएपछि ५३८ ई–रिक्सा फिर्ता भएका छन् । अझै पनि ८५ वटा ई–रिक्सा नियन्त्रण मै छन् । ती ई–रिक्सा माथि पनि छानविन भइरहेको नगर प्रहरी प्रमुख बोगटीले बताउनुभयो ।
