
काठमाण्डौ, १४ पौष – प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्राेत समिति सभापति डा. आरजु राणा देउवाले विषाक्त र अस्वस्थकर खाद्यान्नको आयातमा कडाइ गर्नुपर्ने बताएकी छन् ।
समितिमा शुक्रबार केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा भएको छलफलमा सभापति देउवाले सीमा नाकामा कडाइ गरेर आयातमा कडाइ गर्नुपर्ने बताएकी हुन् ।
सहज आयातकै कारण नेपाली किसानको केरामा भारतीय केरामा देखिएको टिआर फोर नामक घातक रोग देखिएको भन्दै सभापति राणाले यसको नियन्त्रणका लागि आयातमा कडाइ गर्नुपर्ने बताइन् ।
सीमाबाट आयात हुने विषाक्त र अस्वस्थकर खाद्यान्न नियन्त्रणका लागि कृषि, अर्थ, गृह र वाणिज्य मन्त्रालयको टास्क फोर्स बनाउनुपर्ने उनले ओल्याइन् ।

आगामी दिनमा अन्य रोग आउन नदिन के गर्ने ?´ उनले भनिन्,भारतमा आउने वितिकै खुला सीमानाले नेपालमा पनि आउँछ, यसको रोकथामका लागि भारतका वैज्ञानिकसँग कुरा गर्नुपर्छ ।´ नेपालको कृषि वैज्ञानिक क्षेत्रमा पनि लगानी बढाउनुपर्ने उनको भनाइ छ ।
विषाक्त केरा र माछा आउँदा रोग भित्रिरहेको छ, नेपाली किसान मारमा परिरहेका छन्,´ उनले भने,सीमा नाका र भन्सारमा अर्थ, गृह र वाणिज्य मन्त्रालयले कडाइ गर्नुपर्छ ।´
सभापति राणाले सीमामा खटिने सुरक्षाकर्मीदेखि कर्मचारीसम्म जनशक्तिलाई खाद्य सुरक्षाबारे तालिम दिनुपर्ने बताइन् । यसका लागि उनले कृषि मन्त्रालयलाई आग्रह गरिन् ।
सभापति राणाले कृषिमा लगानी बढाउनुपर्ने बताइन् । `कृषि प्रधान देशमा राज्यको ३ प्रतिशत मात्रै बजेट छ । यसलाई बढाएर कम्तिमा ५ प्रतिशत पुर्याउनुपर्छ । किनभने कृषि सेक्टरबाट धेरै राजस्व उठ्छ । यसमा खर्च भन्दा लगानीका रूपमा हेर्नुपर्छ ।´
समितिमा कृषि मन्त्रालयले संक्रामक रोगलगायत कृषि तथा पशुसम्बन्धी ऐनको मस्यौदा भइरहेको जानकारी गराएको थियो ।
रोग रोकथामका लागि सरकारले कृषि ऐन मस्यौदा नै गरेको रहेछ,´ सभापति राणाले भनिन्,यसले पनि धेरै कुरा समेट्ला ।´
भारतबाट आयात हुने खाद्यान्न तथा पशुको गुणस्तर परीक्षणका लागि सीमामा अनिवार्य क्वारेन्टाइन राख्ने र जाँच गर्नुपर्ने बताइन् ।
यसैबीच समितिले बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके बर्दियाका सहकारीको निरीक्षण गर्ने निर्णय गरेको छ । त्यहाँ सहकारी पीडितसँग अन्तरक्रिया पनि हुनेछ । सभापति राणाकाअनुसार १८ र १९ पुसमा समितिको ७ सदस्यीय टोलीले निरीक्षण गर्नेछ । नेपालपाना
