काठमाण्डौ, १५ बैशाख – बहुराष्ट्रिय कम्पनी डाबरले उत्पादनको क्षमता विस्तार र विविधिकरणका लागि नेपालमा थप ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । लगानी बोर्ड नेपाल र डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधिकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनःलगानी सम्झौता भएको छ ।![]()
बिहीबार भएको समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका बिजनेस हेड हरकिरत सिंह बेदीले हस्ताक्षर गरे । उद्योगको क्षमता विस्तार तथा उत्पाद विविधिकरणको लागि बोर्डले गत माघमै लगानी स्वीकृत गरेको थियो । सम्झौतापश्चात डाबर नेपालका बिजनेस हेड बेदीले नेपालमा आर्जित पुँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजी वृद्धिमा लगानी गर्न चाहेको बताए । बोर्डका भट्टले डाबरले गरेको थप लगानीले नेपालप्रति बहुर्राष्ट्रिय कम्पनीको विश्वास रहेको पुष्टि गर्ने दाबी गरे ।
(kantipur.com)
