Monday, April 13सत्यम खबर
Shadow

दादुरा रोग के हो, कसरी सर्छ ?

दादुरा खोप किन ?
६ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई दादुरा खोप लगाऔं समयमै खोप लगाई आफ्ना बालबालिकाहरुलाई विभिन्न रोगहरु लाग्नबाट बचाऔं ।
 १. अतिरिक्त दादुरा खोप अभियान किन संचालन गरिएको हो ?
मिती २०७९ पौष २२ गते देखि बाँके जिल्ला, नेपालगन्ज उप-महानगरपालिकाका केही वडाका बालबालिकाहरुमा दादुरा रोग देखिएको छ । यो रोग अत्यन्त संक्रामक र अरु बालवालिकाहरुलाई पनि छिटो सर्ने जोखिम भएकाले यस्तो जोखिम न्युनीकरण गर्न यो अभियान सञ्चालन गर्नुपरेको हो ।
२. दादुरा रोग के हो ?
दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामन्यतया ५ वर्ष मुनिका वालवालिकाहरुलाई धेरै लाग्दछ र त्यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ । दादुरा रोग लाग्यो भने यसका जटिलताहरु जस्तै निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले विरामीको मृत्यु समेत हुन सक्छ ।
३.दादुरा रोग कसरी सर्दछ ?
दादुराको भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटिमा रही वृद्दी हुने र श्वास नलि एवं अरु भित्रि अंगहरूमा संक्रमण गर्दछ । दादुरा रोग संक्रमण भएको (रोग लागेको) व्यक्तिले खोक्दा, हाछिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।
 ४.दादुरा रोगका प्रमुख चिन्ह लक्षणहरू के के हुन ?
ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्नु दादुरा रोगका प्रमुख चिन्ह लक्षण हुन् । यसको साथै रुघाखोकीको लक्षण चिन्हहरू (नाकबाट पानी बग्ने, खो की लाग्ने, आँखा रातो हुने, आखा पाक्ने आदि जस्ता) पनि देखिन सक्छन् । रोगीको सम्पर्कमा आएको १०/१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ । दादुरा संक्रमित व्यक्तिलाई डावर र विमिरा देखा पर्ने भन्दा ४ दिन अगाडी देखि र डाबर देखा परेको ४ दिन पछि सम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।
 ५. के दादुरा रोगको उपचार हुन्छ ?
दादुरा रोग लागेपछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्काने लगी लक्षण अनुसार र जटिलताको उपचार गर्नु पर्दछ । साथै विरामीलाई भिटामिन ए अनिवार्य रूपमा खुवाउनु पर्दछ । दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुरा बिरुद्धको खोप लिनु नै हो त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकाहरुलाई ९ र १५ महिनाको उमेरमा दादुरा खोपको दुई मात्रा लगाउनु पर्दछ साथै अभियानमा समेत सबै बालबालिकालाई अनिवार्य रुपमा दादुरा खोप लगाउनु पर्दछ ।
 ६. यस अभियानमा कसलाई लक्षित गरिएको छ ?
यस अभियानमा ६ महिनादेखि १५ वर्ष मुनिका सबै वालवालवालिकाहरुलाई लक्षित गरिएको छ । नियमित खोपमा दादुरा विरुद्धको खोप लगाएको भएतापनि यस अभियानमा सम्पुर्ण बालबालिकाहरुलाई नछुटाइकन खोप लगाउनु पर्दछ यसवाट बालवालिकामा दादुरा रोगवाट सुरक्षित हुन थप क्षमता विकास हुन्छ र बालबालिकाहरु पूर्ण रुपमा यो रोगबाट सुरक्षित हुन्छन् ।
७.यो अभियानमा दादुरा खोप कहाँ, कहाँ लगाइदैछ ?
यस अभियानमा तोकिएका विभिन्न खोप केन्द्र, स्वास्थ्य संस्था, शहरी स्वास्थ्य इकाई, आधारभूत स्वास्थ्य सेवा केन्द्र, विद्यालय, वडा कार्यालय तथा अन्य पायक पर्ने स्थानहरुमा खोप सेवा सञ्चालन हुनेछ । अभियान सञ्चालन हुने मितिमा आफ्ना वालवालिकाहरुलाई पायक पर्ने नजिकैको खोप केन्द्रमा गई खोप लगाउनु पर्दछ । कुनै कारणले उक्त दिन खोप लगाउन छुट भएमा अभियान भित्रमा नजिकैको जुनसुकै खोप केन्द्र, स्वास्थ्य संस्थामा गएर पनि खोप लगाउन सकिन्छ ।
८. दादुरा खोप कसले दिन्छ ?
दादुरा खोप तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट सुइको माध्यमबाट दिइन्छ ।
९. के दादुरा खोप लगाउन सुरक्षित छ ?
दादुरा खोप प्रभावकारी र सुरक्षित छ । सुई लगाएको ठाउमा दुख्ने, सामान्य ज्वरो आउने, विमिरा आउने जस्ता सामान्य असरहरु देखिन सक्छन् र यी असरहरु केही समयपछि आफै ठीक हुन्छन् खोप लगाए पश्चात बालवालिकामा अन्य समस्याहरू पनि देखा पर्न सक्छन जुन खोपको कारणले नभई अन्य कारणबाट भएका हुन सक्छन् । खोप पश्चात बालवालिकालाई कुनैपनि समस्या भएमा तत्काल स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूसंग सम्पर्क गर्नु पर्दछ । यो खोप नियमित रूपमा प्रयोग भएको दादुरा रोग बिरुद्धको खोप नै हो, कुनै नया होइन ।
१०. अभियानमा खोप लगाए पछि नियमित खोपमा दादुरा रुबेला खोप दिनुपर्छ कि पर्दैन ?
यो अभियानमा दिईएको दादुरा रुबेला खोप पुरक (थप) मात्रा हो । यो अभियानमा खोप लगाएता पनि नियमित खोपमा उपलब्ध हुने दादुरा/रूवेला खोप लगायत सबै रोग विरुद्धका खोपहरू १५ महिना सम्ममा तालिका अनुसार अनिवार्य लागाउनै पर्दछ ।
११. खोप अभियानमा समुदायको के कस्तो जिम्मेवारी र भूमिका रहन्छ ?
यो अभियानमा पनि समुदायको महत्वपूर्ण भूमिका र जिम्मेवारी छ । समुदाय, टोल, वस्तिमा कहि कुनै वालवालिका दादुरा/रूवेला खोप लगाउन छुट्यो भने बालबालिकामा दादुरा रुबेलाको संक्रमण हुने साथै समुदायमा समेत संक्रमण फैलन सक्दछ । त्यसैले यो अभियानमा कुनैपनि बालवालिका नछुटोस भनेर आफ्नो टोल, बस्ति र समुदायमा व्यापक प्रचार प्रसार गर्ने, खोपको महत्वबारे जानकारी गराउने, खोप संचालनको दिन स्वयम सेवकको रुपमा सहयोग गर्ने, छुटेका बालबालिकाको पहिचान तथा खोजी गरी खोप दिलाउन सहयोग गर्ने आदि जस्ता महत्वपूर्ण जिम्मेवारी जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधी, समुदायको अगुवा, शिक्षक, विद्यार्थीबाट उपलब्ध गराई अभियान सफल बनाउनु पर्दछ ।
१२. दादुराको खोपले कुन कुन रोगबाट बचाउँछ ? 
यस अभियानमा दिइने खोपमा रुबेलाको पनि खोप हुने भएकोले, यस खोपले दादुरा र रुबेला दुवै रोगबाट बचाउँछ ।
१३. दादुरा महामारीको अवस्थामा बालबालिकाहरुलाई भिटामिन ए खुवाउन जरुरी छ ?
यस दादुरा महामारीको अवस्थामा बालबालिकाहरुलाई निम्न अनुसार भिटामिन ए क्याप्सुल दिन जरुरी छ ।
-दादुरा निदान भएका बालवालिकाहरुलाई दुई मात्रा पहिलो र दोस्रो दिनमा र जटिलता भएमा तेस्रो मात्रा पनि दिने 
-भिटामिन ए को कमीले आँखाको समस्या देखा परेको विरामीलाई तीन मात्रा पहिलो दिन, दोस्रो दिन र २८ औं दिनमा दिने ।
-दिर्घ कुपोषण भएका बालबालिकाहरुलाई एक मात्रा भिटामिन ए निदान भएकै दिनमा दिने । 
-दिर्घ झाडापखाला भएका बालबालिकाहरुलाई एक मात्रा भिटामिन ए दिने ।
-६ महिना मुनिका बालबालिकाहरुलाई भिटामिन खुवाउन नपर्ने हो भने ६ देखि एक वर्षका बालबालिकाहरुलाई १ लाख आई.यु. (४ थोपा) र एक वर्ष माथिका सबै बालबालिकाहरुलाई २ लाख आई.यु. (८ थोपा) पुरा मात्रा भिटामिन ए दिने स्वास्थ्य कार्यालय बाँकेका खोप सुपर भाईजर नरेश श्रेष्ठले बताउनुभयो ।
(लुम्बीनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय) स्वास्थ्य कार्यालय, बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *