काठमाण्डौ, ८ पौष – कोरोना भाइरस नियन्त्रणका लागि जारी प्रतिबन्धहरू हटाइएको दुई सातामा चीनमै महामारीले भयाभय रुपमा फैलिएको छ ।
कोरोनाविरुद्ध ‘शून्य सहनशीलता नीति’ अख्तियार गर्दै आएको चीनले डिसेम्बर ८ देखि सावधानीका विकल्पसहित लचकता अपनाउन थालेको थियो ।
पश्चिमी चीनको उरुम्चीमा कडा प्रतिबन्ध जारी रहेका बेला एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएपछि प्रदर्शन चर्केको थियो । भाइरस सम्बन्धी कडा प्रतिबन्धका कारण उनीहरूको ज्यान गएको भन्दै स्थानीयले शून्य कोभिड नीतिको विरोधमा प्रदर्शन चर्काएका थिए ।
उरुम्चीबाट सुरु भएको प्रदर्शन बेइजिङ, सांघाई, नान्जिङ, गोङजाउ, चोङकिङ लगायतका सहरमा फैलिएको छ । विश्वका अधिकांश देशले कोरोना सँगसँगै बाँच्ने नीति अख्तियार गरेपनि चीनले प्रतिबन्धहरू नहटाएपछि प्रमुख सहरहरूमा विरोध प्रदर्शन चर्केको थियो ।
राष्ट्रपति सी जिनपिंगको राजीनामा माग्दै प्रदर्शन चर्किएपछि चीन शून्य कोभिड नीतिबाट पछि हट्न बाध्य भए । करिब ३ वर्षदेखि कडा प्रतिबन्धहरू जारी गरेको चीनले लचिलो नीति लिएसँगै भाइरसको संक्रमण फैलिएको थियो । तीन वर्षदेखि चीनले भाइरस परीक्षण र कडा लकडाउनमा जोड दिएको भए पनि त्यही रूपमा खोप लगाउने काम भने हुन सकेको छैन ।
खोप लगाउन सर्वसाधारणलाई अनिवार्य गरिएको छैन भने स्थानीयस्तरमा उत्पादित खोप लगाउनुपर्ने व्यवस्था गरिएको छ । तर विभिन्न अनुसन्धानले ती खोप अन्तर्राष्ट्रिय रूपमा उत्पादित अन्य खोपको तुलनामा कम प्रभावकारी भएको पुष्टि भइसकेको छ । जसका कारण करिब डेढ अर्ब मानिसको जीवनयापन कष्टकर बनिरहेको छ ।
तर पनि चीनले भाइरसको असरलाई सफलतापूर्वक निकै न्यून स्तरमा राख्न सफल भएको थियो । पछिल्लो दुई सातामा देखिएको नयाँ सब–भेरिएन्ट ‘बीएफ–७’ को तीव्र संक्रमणले भने चीन अफ्ट्यारोमा पर्ने देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो समय चीनका अस्पतालहरू संक्रमितले भरिन थालेका जनाएको छ । डब्लूएचओको आपत्कालीन विभागका प्रमुख माइकल रयानले पछिल्लो समय चिनियाँ अस्पतालका सघन उपचार कक्ष (आईसीयू) भरिएका जस्तो देखिएको बताए । ‘चीनका आईसीयूमा निकै कम बिरामीहरू रहेका जनाइएको छ । तर आईसीयूहरू भरिँदै गएका छन्,’ उनले भनेका छन् ।
संक्रमणदर बढे पनि मृत्युदर भने बढ्ने आशंका गरिएको छ । एजेन्सी ।