Saturday, April 25सत्यम खबर
Shadow

१० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात

काठमाण्डौ, २८ मंसिर – आन्तरिक खपतबाट बढी हुने बिजुलीमध्ये करिब ४१० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको छ। गत वर्षबाट बिजुली भारत निर्यात हुन थालेको हो। चालू वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ। देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् भारत निर्यात भएको हो।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। थप ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यातका लागि भारतको सहमतिको पर्खाइमा रहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए।

तर, विद्युत् निर्यातको दीर्घकालीन सम्झौता भने हुन सकेको छैन। अहिले भारतले निर्यातका लागि दिएको सहमति अल्पकालीन हो। यसलाई बर्सेनि नवीकरण गर्नुपर्छ। हिउँदयाममा अझै आयात गर्नुपर्ने तर वर्षायाममा आन्तरिक खपत बढ्न नसकेको र निर्यातको दीर्घकालीन नीति अझै बन्न नसकेको प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले बताउँछन्। बिजुली किन्नका लागि भारत सहमत नै भएकाले बजार सुनिश्चित भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्।

बिजुली किन्न भारतको सहमतिको पर्खाइ
बंगलादेश पनि नेपालको बिजुली किन्नका लागि तत्पर देखिन्छ। बंगलादेशले सन् २०४० सम्म ९ हजार मेगावाटसम्म बिजुली आयात गर्ने नीतिगत निर्णय गरेको छ। तर, बंगलादेश नेपालको विद्युत् व्यापारमा भारतको सहमति आवश्यक छ। नेपाल बेच्न तयार छ बंगलादेश किन्न तर भारत भएर जानुपर्ने भएकाले भारतको सहमतिको पर्खाइ छ।

नेपालको बिजुली बंगलादेख बेच्न भारत र बंगलादेशको प्रसारण पूर्वाधारमा काम गर्न आवश्यक देखिन्छ। अहिले भारत र बंगलादेश जोड्ने प्रसारणलाइन करिब ६० मेगावाट क्षमताको मात्रै छ। अहिले नेपालले ६० मेगावाट मात्र बंगलादेश निर्यात गर्न सक्छ। पछिल्लो समयमा भारत र बंगलादेशको बीच ठूलो प्रसारणलाइन बनाउने सम्बन्धमा दुई देशबीच छलफल भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।
दुई देशबीच प्रधानमन्त्रीस्तरमा छलफल भइरहेको उनले बताए। यता ऊर्जा सचिव दिनेश घिमिरेका अनुसार चाँडै नै हुन गइरहेको नेपाल–भारत ऊर्जा छलफलमा थप निर्यात र बंगलादेशमा निर्यातलाई प्राथमिकतामा राखेर एजेन्डा बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *