Sunday, November 24सत्यम खबर
Shadow

बंगलादेशमा ठूलो लगानी गर्नुको पछाडि चीनको उद्देश्य के छ ?

काठमाण्डौ, २५ मंसिर – बागंलादेशसँग आर्थिक सम्बन्धलाई बलियो बनाउनका लागि चीनले निरन्तर प्रयास गरिरहेको छ। जसरी चीनले बंगलादेशमा चलिरहेका आयोजनाहरूको उद्घाटन गरिरहेको छ अनि त्यहाँको व्यापारिक मञ्चमा चीनको आर्थिक प्रस्ताव राख्नका लागि चिनियाँ राजदूत जुन प्रकारले सक्रिय देखिएका छन् त्यसले बंगलादेशप्रति चीनको बढ्दो चासोलाई प्रस्ट पारेको छ।

बागंलादेशसँग व्यापारिक सम्बन्धलाई बलियो बनाउनका लागि चीनले त्यहाँको आधारभूत संरचनामा ठुलो निवेश गर्नका साथै ऊर्जा संसाधनहरूको सप्लाईमा पनि सहयोगको प्रस्ताव दिएको छ। यसको साथै चीनले दुवै देशको मुद्राहरूको सहज आदान-प्रदानका लागि पनि पहल गरिरहेको छ।

तर, चीनबाट आएका यस्ता प्रस्तावलाई स्वीकार गर्दा बंगलादेश सरकारले पनि निकै सावधानी अपनाइरहेको छ। बागंलादेशकी प्रधानमन्त्रीले चिनियाँ प्रस्तावलाई स्वागत गरिरहेकी छिन् तर भारत र जापानजस्ता एसियाली मुलुकसँगको आर्थिक सम्बन्धलाई बलियो बनाउने इच्छा पनि खुलेर व्यक्त गरिरहेकी छिन् ।

हालैका महिनाहरूमा, बंगलादेशमा चलिरहेका धेरै चिनियाँ परियोजनाहरू पूरा भएका छन्। तीमध्ये केही उद्घाटन भइसकेका छन्। बंगलादेशका लागि चिनियाँ राजदूत ली जिमिङको भनाइलाई पनि बंगलादेश र चीनका सञ्चारमाध्यममा निकै महत्व दिइँदैछ।

यस्तै एउटा समाचार चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले २४ नोभेम्बरमा प्रकाशित गरेको थियो। जसमा चीनले बंगलादेशसँग मिलेर सूचना तथा सञ्चार प्रविधि परियोजनाको तेस्रो चरण कसरी पूरा गऱ्यो भन्ने कुरा उल्लेख गरिएको छ। ग्लोबल टाइम्सले बंगलादेशका मन्त्री जुनैद अहमद पलकलाई यस परियोजनाको बारेमा उद्धृत गर्दै लेखेको थियो कि, “हामी बंगलादेशलाई डिजिटलाइज गर्ने दिशामा ख्वावे र सीआरआईजीलाई निरन्तर प्रयासका लागि धन्यवाद दिन्छौं।”

उद्घाटन समारोहमा सामेल भएका चिनियाँ राजदूत जिमिंगले पनि भनेका थिए कि ICT सेक्टरमा हाम्रो सहयोग डिजिटल बागंलादेश र डिजिटल सिल्क रोडलाई बलियोसँग जोड्नेछ।

अर्कोतिर १२ नोभेम्बरमा सिन्हुआ न्यूद एजेन्सीले आफ्नो चिनियाँ संस्करणमा चीनको सहयोगले निर्माण भइरहेको ढाका-आशुलिया एक्सप्रेस व-को उद्घाटनको खबर प्रमुखतासँग प्रकाशित गरेको थियो। उक्त पत्रिकाले लेखेको छ कि एक्सप्रेसवेको उद्घाटन समारोहमा उपस्थित चिनियाँ राजदूत ली जिमिङले भनेका थिए कि, “यो बागंलादेशको भिजन २०४१ सँग चीनको बेल्ट एण्ड रोड परियोजनाको साथ आउनुको उत्कृष्ट उदाहरण हो। यसले दुवै देशका जनतालाई फाइदा पुग्ने छ।

यसभन्दा अघि सेप्टेम्बरमा बागंलादेशकी प्रधानमन्त्री शेख हसीनाले बागंलादेश-चीन मैत्र ब्रीजको उद्घाटन गरेकी थिइन्। यस ब्रिजको निर्माण नोभेम्बर २०१८ मा सुरु भएको थियो। पुलको मोठ लागतको ७० प्रतिशतभन्दा अधिक लगानी चीनको हो। चीनले बागंलादेशमा थुप्रै नयाँ परियोजनाहरू सुरु गर्ने प्रस्ताव सरकारसमक्ष राखेको छ। यसमा ऊर्जा आपूर्तिदेखि लिएर नदीको परियोजना र चटगाउँ क्षेत्रमा एउटा स्मार्ट सिटी बनाउने योजना सामेल छ।

चीनले यसभन्दा अघि पनि काक्स बजार क्षेत्रमा दक्षिण एशियाको पहिलो विन्ड पावर फ्याक्ट्री लगाउनमा बागंलादेश सरकारसँग मिलेर काम गरिरहेको छ। बंगलादेशी पत्रिका ‘प्रोथोम आलो’ मा नोभेम्बर ५ मा प्रकाशित समाचार अनुसार चिनियाँ राजदूत ली जिमिङले बंगलादेशको अगाडि ठूलो प्रस्ताव राखेका छन्।

‘बंगलादेश-चीन सिल्क फोरम’ लाई सम्बोधन गर्दै जिमिङले भने, “चीनले टिस्टा ब्यारेज परियोजनालाई गम्भीरतापूर्वक विचार गरिरहेको छ। यदि बंगलादेश सरकारले यो परियोजना गर्न चाहेमा चीन त्यसका लागि तयार छ।”
उल्लेखनीय कुरा के भने भारत र बंगलादेश दुवैले टिस्टा नदीको पानी प्रयोग गर्छन्। पानी बाँडफाँडलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद चलिरहेको छ। यस्तो अवस्थामा टिस्टा नदीमा चीनको सहयोगमा कुनै पनि निर्माणले बंगलादेश र छिमेकी भारतबीचको पुरानो विवाद बढाउन सक्छ। यस विवादबारे चीनलाई पनि राम्ररी थाहा छ। प्रोथोम आलोमा प्रकाशित लेखअनुसार चिनियाँ राजदुतले भारतको नाम नलिइकन भने कि बागंलादेशलाई यस मुद्दामाथि बाहिरी दवाब छ।

चीनले बंगलादेशलाई दिने विभिन्न प्रस्तावमाथि भारतीय मिडियाले नजिकबाट नियालिरहेका छन्। भारतीय एउटा समाचार पत्रअनुसार “भारत-बंगलादेश सम्बन्ध बलियो भए पनि, चीनको नियतमाथि लगातार प्रश्न उठिरहेको छ… सैन्य क्षेत्रमा मात्र होइन, तर चिनियाँ कम्पनीहरूले जुन मात्रामा लगानी गरिरहेका छन् बंगलादेशको पूर्वाधारमा पनि।”

अर्कोतिर बागंलादेशले चीनको बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत चीनको निवेशलाई स्वागत गरे तापनि उसले भारत र जापानजस्ता व्यापारिक सहयोगीहरूसँग आफ्नो घनिष्ठता कायम राखेको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सेप्टेम्बरमा भारत आउँदा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘फ्री ट्रेड एग्रीमेंट’ बारे छलफल गरेकी थिइन्। पूरै एसियामा बंगलादेशमा बन्ने वस्तुको सबैभन्दा बढी निर्यात भारतमा हुने गरेको छ। चीनपछि बंगलादेशले सबैभन्दा बढी भारतबाट आयात गर्छ। सरकारको पछिल्लो तथ्यांकअनुसार सन् २०१९-२० मा बंगलादेशमा भारतबाट बनेका सामानको आयात तीन प्रतिशतले बढेको छ।

सन् २०२०-२१ को तथ्याङ्कअनुसार चीन बंगलादेशको शीर्ष १० निर्यात गर्ने देशको सूचीमा पर्दैन भने भारत सातौं र जापान आठौं नम्बरमा छ। सम्भवतः यसै कारण चीनले बंगलादेशबाट आयात हुने केही वस्तुमा लगाइएको कर हटाउने निर्णय गरेको हो। यो नियम सेप्टेम्बर १ देखि मात्र लागू हुनेछ। यससँगै चिनियाँ राजदूतले बंगलादेशलाई चीनको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *