Friday, April 24सत्यम खबर
Shadow

धार्मिक होइन विकासका मुद्दामा बहस गरौं : राई

नेपालगन्ज, १२ कार्त्तिक – जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथ र विकास नछोड्ने नेतालाई मतदान गर्न अपिल गरेका छन्। क्षेत्र नं २ अन्तर्गत पर्ने डुडुवा तथा नेपालगन्ज क्षेत्रमा चुनावी घरदैलो कार्यक्रमका बेला मतदाताहरूलाई सम्बोधन गर्दै उनले यसअघिका कामहरूको आधारमा मतदान गर्न भनेका हुन्।

‘मैले यसकारण तपाईंहरूसँग भोट मागिरहेको छु कि यसअघि पनि मैले यहाँ गरेका बाचाहरूअनुसार काम गर्ने प्रयास गरें। कति गरें त्यो तपाईंहरू नै साक्षी हुनुहुन्छ’ उनले भने ‘अझै काम गर्न बाँकी छ र ती कामहरू मैले अवश्य पूरा गर्नेछु त्यसका लागि फेरि एकपटक मलाई तपाईंहरूको साथ चाहिएको छ।’
उम्मेदवार राईले धार्मिक मुद्दा उठाएर अनि मिलेर बसेको समुदायलाई फेरि विथोल्नका लागि विपक्षीहरू लागिपरेको भन्दै त्यस्ता षड्यन्त्रहरूप्रति सचेत रहन पनि आम मतदातालाई आग्रह गरे।

‘हामी विकासका मुद्दामा बहस गरौं भनिरहेछौं। के के काम गर्ने भनेर त्यसमा प्रतिष्पर्धा गर्न खोजिरहेका छौं’ उनले भने ‘तर केही उम्मेदवारहरू तपाईंकै घरदैलोमा आउँछन् र मात्रै धर्मको ठेकेदारी देखाउँछन्। त्यस्ताहरूबाट सचेत हुनुपर्छ। अब धार्मिक र सामाजिक सद्भाव खलबल्याएर भोट पाइनेपवाला छैन।’ राईले कुनै पनि हालतमा आफ्नो क्षेत्रमा सामाजिक र साम्प्रदायिक सद्भाव भड्किन नदिने पनि प्रतिवद्धता जनाए।

‘यो हामी मिलेर बसेको समाज हो। सबै जातजाति, धर्म र सम्प्रदाय मिलेको सद्भावले भरिएको समाज हो’ उनले भने ‘अहिले अरु कुनै मुद्दाहरू नपाएर फेरि त्यही धार्मिक र सामाजिक सद्भाव भड्काउने खालका गतिविधि गर्दै आइरहेका छन्। यसबारे सचेत भएर प्रतिकार गर्नुहोस्। हाम्रो समाजमा त्यो आगो सल्कियो भने त्यसले मुस्लिम, हिन्दु केही पनि चिन्दैन। सबै सखाप हुन्छ।’

आफूले राजनीतिमा कुनै धर्म वा समुदाय विशेषको मात्रै नभएर आम नागरिकको सुखदुखमा सधैं साथ दिँदै आएको बताउँदै नेता राईले चुनाव जिते पनि नजिते पनि आफ्नो क्षेत्रको विकास र जनताको साथ कहिल्यै नछोड्ने बाचा पनि गरे।

‘धेरै उम्मेदवारहरू सपना बाँड्न आउलान्। आइरहेका पनि छन्’ उनले भने ‘तर अहिलेसम्म ती सपनाहरू कति पूरा भए? त्यो तपाईंहरूलाई पनि राम्रैसँग थाहा छ। हामी कसैलाई सपना बाँड्न आइरहेका छैनौं। हामी काम गर्छौं, विकास गर्छौं। त्यसैका लागि तपाईंहरूको साथ माग्न आएका हौं।’

उनले काम गरेका र अब पनि विकासका लागि राजनीति गरिरहेकाहरूलाई नै मतदान गर्न अपिल गर्दै त्यसको मूल्याङ्कन मतदान गर्दा उचित विवेक प्रयोग गरेर देखाइदिन पनि मतदातालाई आग्रह गरे।
‘यो क्षेत्रमा थुप्रै नेताहरू जन्मिएका छन्। प्रधानमन्त्री पनि यही क्षेत्रले पाएको छ। काम गर्ने ठाउँमा अरु पनि पुगेका छन्। तर यहाँको स्थितिमा के परिवर्तन भयो त?’ उनले भने ‘म पनि दुई कार्यकाल सांसद भएँ। मन्त्री भएँ अहिले र त्यो बेलाको विकासको स्थिति सम्झिनुस् अनि मतदान गर्नुहोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *