Wednesday, April 22सत्यम खबर
Shadow

सिके राउतकाे उम्मेदवारी उपेन्द्र यादवकाे क्षेत्रबाट

काठमाण्डौ, २३ साउन –जनमत पार्टीका अध्यक्ष डा. सिके राउत प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवकाे क्षेत्रबाट चुनाव लड्ने भएका छन् ।

गएकाे निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने राउतले घोषणा गरेका हुन् । अध्यक्ष यादव यसपटक पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा देखिन्छन् ।

डा. राउतले बिहीबार जनकपुरधाममा बसेको बैठकमा आफूलाई सप्तरी-२ बाट चुनावमा उभ्याउनेबारे छलफल भएको बताए । ‘त्यो छलफल अनुसार त्यहीं क्षेत्रबाट म चुनाव लड्नेछु’ डा. राउतले भने । सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ ।

निर्वाचन घोषणापछि नेताहरू उम्मेदवारी घोषणा गर्न थालेका हुन् । के छ अवस्था ? यो निर्वाचन क्षेत्रमा ४ वटा पालिका छन् । जसमध्ये दुई वटामा लोकतान्त्रिक समाजवादी -लोसपा) तथा जसपा र कांग्रेस एक/एक पालिकामा निर्वाचित भएका छन् । सदरमुकाम राजविराज नगरपालिकामा जसपा, सिके राउतको घर भएको महादेवासहित छिन्नमस्ता गाउँपालिकामा लोसपा र तिलाठी-कोइलाडी गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।

राउतको घर भएको महादेवाको वडानम्बर-२ मा भने उनकै पार्टी जनमत विजयी भएको छ । जिल्लाभर जनमतले दुई पालिका हनुमाननगर र बलान बिहुल जितेको छ तर उनले चुनाव लड्ने घोषणा गरेका क्षेत्र नम्बर २ मा पर्दैनन् । स्थानीय तहको मतपरिणाम अनुसार जसपा र जनमत दुवै दलहरू लोसपा र कांग्रेसभन्दा कमजोर देखिएछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *