Sunday, April 12सत्यम खबर
Shadow

नेपाल–भारत विकास सहकार्यमा विज्ञको जोड ‘नेपालले पहिलो पटक भारतलाई विद्युत् बेच्नु द्विदेशीय सम्बन्धका लागि कोसेढुंगा’

काठमाण्डौं, १४ साउन –नेपाल–भारतको विकासमा आपासी सहकार्य आवश्यक रहेकोमा यस क्षेत्रका जानकारहरूले जोड दिएका छन । इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स (आईसीडब्लूए) ले बुधबार नेपाल–भारत विकास साझेदारी विषयमा गरेको अन्तरर्क्रिरयामा विज्ञहरूले वैश्विक कारणले परेको प्रभावलाई कम गर्न दुवै मुलकले सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन ।

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले नेपालले वैदेशिक लगानी आकर्षण गर्न विभिन्न क्षेत्रमा सुधारात्मक प्रयासहरू गरेको चर्चा गरे । विदेशी लगानी, उद्योग तथा अद्योगिक क्षेत्रसम्बन्धी कानुनहरूमा सुधार गरेर लगानीमैत्री बनाइएको उनले बताए । नेपालले भारतमा थालेको विद्युत् निर्यातले व्यापार घाटा कम गर्न सघाउने उनले उल्लेख गरे । उद्योग, पर्यटन, उर्जा र सूचना प्रविधिलगायत क्षेत्रमा नेपालमा लगानी गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेको उनको भनाइ थियो ।

नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रोयले कोरोना महामारी तथा रसिया–युक्रेन युद्धले विश्वव्यापीरुपमा आर्थिक कठिनाइहरू निम्त्याएको बताए । विशेषगरी दक्षिण एसियाली मुलुकहरूमा धेरै मार परेको उनको भनाइ थियो । यसबाट पार पाउन सबै मुलुकले सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । उनले पछिल्ला दिनमा नेपाल–भारतबीच महत्वपूर्ण सहकार्यको विकास भएको र त्यसले सकारात्मक दिशा लिएको समेत बताए ।

पूर्वराजदूत विजयकान्त कर्णले नेपालको विकास साझेदारमा भारत पहिलो रहेको बताए । उनले आफूहरूले बाल्यकालदेखि नै नेपालमा उर्जाको प्रशस्तै सम्भावना रहेको र त्यसको भारतसँग व्यापार गरिने सुन्दै आए पनि पहिलो पटक विद्युतको व्यापार अहिले आएर सुरु हुनुलाई ‘कोशेढुंगा’ कै रुपमा व्याख्या गरे । उनले दुई मुलुकबीच रहेका विभिन्नखाले सम्झौताहरूको कार्यान्वयनमा आइपर्ने अनेकन बाधाको पहिचान गरी त्यसको समाधानमा दुवै पक्षले पहलकमदी लिनुपर्ने सुझाए । मिडियाको भूमिका पनि दुवै मुलुकको सम्बन्धलाई बलियो बनाउन महत्वपूर्ण हुनुपर्ने उनको भनाइ थियो । दुवै तर्फका मिडियाले वास्तविकता नबुझी गर्ने रिपोर्टिङले पनि कतिपय बेला समस्या ल्याउने गरेको धारणा उनले राखेका थिए ।

भारतीय प्राध्यापक महेन्द्र पी लामाले नेपालले पहिलो पटक व्यावसायीक रुपमा भारतलाई बिजुली निर्यात गरेकोमा आगामी दिनलाई सकारात्मक र आशावादी भएर हेर्नुपर्ने बताए । नेपाल मामिलाका जानकार एवं अनुसन्धानदाता निहार नायकले भारतले सन् १९५२ देखि नै नेपालको विकास कार्यमा साझेदार भएर काम गरिरहेको बताए । नेपालले लिएको ‘भिजन २०३०’ लाई सफल बनाउन भारत सहयोगी हुनुपर्ने उनले विचार राखेका थिए ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक उद्धव प्याकुरलले दुई मुलुकबीच भइरहेको शिक्षा क्षेत्रको सहयकार्यबारे चर्चा गरेका थिए । एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसल अफेयर्सका कार्यकारी अधिकृत सुनिल केसी, पत्रकार कमलदेव भट्टराईले दुई मुलुकबीच विभिन्न क्षेत्रमा भइरहेको साझेदारीमा नेपाल पक्षको चासोबारे धारणा राखेका थिए ।

त्यस्तै, भारतीय उद्योगी व्यवसायीको संस्था फिक्कीका वरिष्ठ निर्देशक श्रीगौतम घोसले द्विदेशीय व्यापारको अवस्थाबारे प्रकाश पारेका थिए । (Siddartha Online)

Leave a Reply

Your email address will not be published. Required fields are marked *