
नेपालगन्ज, ११ असार – लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बाँकेमा सप्ताहव्यापी विविध कार्यक्रमहरू गरिएका छन् ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा लागुऔषध विरुद्ध काम गरिरहेका संघसंस्थाले जनचेतनामुलक विविध गतिविधी गरेका हुन् ।
दिवसका अवसरमा असार ८ गतेदेखि कार्यक्रमहरु गरिएका छन् । लागुऔषध विरुद्धका जिंगलमार्फत प्रचार-प्रसार, चोक तथा सार्वजनिक स्थलहरु र नाकामा सचेतनामुलक कार्यक्रमसँगै अन्तरक्रिया, रक्तदान गरिएको छ । १२ गते विहान प्रभात फेरीसँगै समापन हुनेछ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिवार पत्रकार सम्मेलन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बाँकेमा लागुऔषध प्रयोगकर्ता, कारोबारी, पुनर्स्थापना केन्द्रका बारेमा जानकारी दिए ।
बाँकेका २० वटा पुनर्स्थापना केन्द्रमा अहिले ३ सय १२ जनाको उपचार भइरहेको छ । निःशुल्क परामर्श केन्द्रमा ९ जना सेवा लिइरहेका छन् । पछिल्लो तथ्यांक अनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिन्छ । गत वर्षभन्दा चालु आर्थिक वर्षमा नाइट्रोजन र ट्रामाडोल दोब्बर बढीले पक्राउ गरिएको छ ।
