Sunday, May 3सत्यम खबर
Shadow

“रु पे” ले नेपाल–भारत बीच हुने वित्तीय कारोबारमा पारदर्शिता बढ्ने नेपाल राष्ट्र ब्याङ्कको आँकलन

काठमाण्डौ, २५ चैत्र – भारतको विश्वव्यापी कार्ड प्रणाली “रु पे” लाई नेपालमा प्रयोग अनुमति दिँदा दुई देशबीच हुने वित्तीय कारोबारमा पारदर्शिता बढ्ने नेपाल राष्ट्र ब्याङ्कका एक अधिकारीले बताएका छन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिवार संयुक्त रूपमा ‘रु पे’ नेपालमा पनि प्रयोगमा ल्याउने घोषणा गरेका छन्।

भारतीय राष्ट्रिय भुक्तान निगम एनपीसीआईबाट जारी हुने ‘रु पे’ विश्वव्यापी कार्ड प्रणाली भिसा र मास्टर कार्ड जस्तै भारत आफैँले सुरुवात गरेको ब्याङ्किङ कार्ड हो।

भारतीय प्रधानमन्त्री मोदीले यसले दुई देशबीच डिजिटल भुक्तानीलाई बढावा दिने उल्लेख गरेका छन्।
नेपालमा ” रु पे” कार्डको उपलब्धता वित्तीय जडानतर्फ अर्को ठुलो कदम हो र यसले डिजिटल भुक्तानीलाई बढवा दिनेछ,” मोदीले ट्विट गर्दै भनेका छन्।

सन् २०१२ मा सुरुवात भएको यो कार्ड अहिले करिब ७० करोड भारतीयहरूले प्रयोग गरिरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतमा विभिन्न प्रणालीका करिब एक अर्ब ब्याङ्किङ कार्ड प्रयोगकर्ताहरू रहेको बताइन्छ। जसमध्ये करिब ६० प्रतिशतले ‘रु पे’ प्रयोग गर्ने दाबी गरिएको छ

नेपाललाई के फाइदा
नेपाल राष्ट्र ब्याङ्कको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल भारतमा ठूलो सङ्ख्यामा प्रयोगकर्ताहरू रहेको कार्ड प्रणालीले नेपालमा पनि प्रयोग अनुमति पाउँदा तत्कालका लागि नेपाल घुम्न आउने भारतीयहरूले गर्ने खर्च पारदर्शी बनाउन सहयोग पुग्ने बताए।

“नगद कारोबार हुँदा जति पारदर्शिता हुन्थ्यो डिजिटल कारोबार हुँदा त्यो भन्दा बढी पारदर्शिता हुने भयो। किनभने यसको अभिलेख हुन्छ र यसमा नियामक निकायहरूको पहुँच हुन्छ,” उनले भने।

यसले नेपालका वित्तीय संस्थाहरूलाई पनि भारतीय ब्याङ्कहरूसँग हुने कारोबार मिलाउन सहज हुने उनी बताउँछन्। (हाम्रो पाना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *