
नेपालगन्ज, १७ माघ – बालबालिकालाई अभिभावक बाहेक अरूले एक स्थानबाट अर्कोमा लैजान जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने भएको छ ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आमा–बुवा र अभिभावक बाहेक अन्य व्यक्ति वा संस्थामार्फत् बालबालिकाहरूलाई नेपालभित्र एक स्थानबाट अर्को स्थानमा लैजानु परेमा सम्बन्धित स्थानीय तहको सिफारिस लिन भनिएको छ । सो सिफारिस जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा मात्रै लैजान पाउने मन्त्रालयले जनाएको छ ।

बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाउने, पालन पोषण गरिदिने भन्दै संघ संस्थाको नाममा बालबालिकाहरूलाई लिने र विदेश पठाएर घरेलु कामदारको रूपमा प्रयोग गरेको भन्ने गुनासो तथा उजुरी मन्त्रालयमा परेको थियो ।
साथै बालबालिकाहरूलाई यौन शोषण गर्नेलगायतका गैरकानुनी क्रियाकलापमा समेत सहभागी गराएको भन्ने उजुरी परेको थियो ।
नेपालबाट विदेशमा शैक्षिक प्रयोजनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी पत्र, एनओसी जारी नहुने हकमा स्थानीय प्रशासनको स्वीकृति चाहिने गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै अन्य प्रयोजनको लागि भए महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र सम्बन्धित देशको सरकारी निकायले प्रदान गरेको अनुमति वा स्वीकृति पत्र भएमा मात्र लैजान पाउने व्यवस्था गरेको हो ।
