
काेहलपुर, २१ मंसिर – नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले आफ्ना उपभोक्ताहरुलाई सचेतनाका लागि सुचनामुलक पम्पलेट वितरण थालेको छ ।
अनलाइन सुविधा हुँदा पनि घन्टौं लाइनमा बसेर भुक्तानी गर्न आउने विद्युत उपभोक्ताहरूलाई अनलाइन विद्युत भुक्तानी लगायतका विषयमा थप चेतना फैलाउन कोहलपुर वितरण केन्द्रले त्यसरी सुचनामुलक पम्पलेट वितरण थालेको जनाएको हो ।
कतिपय सेवाग्राही जानकार भएर पनि अनलाइन भुक्तानी गर्न अलमल हुने, प्रक्रियाबारे स्पष्ट हुन नसकेर घन्टौंसम्म लाइनमा कुरेर महसुल भुक्तानी गर्ने त्यस्ता सेवाग्राहीलाई थप स्पष्ट पार्न दक्ष जनशक्तिबाट अन्य अत्यावश्यक विभिन्न सुचना समेटिएको पम्पलेट प्रचारप्रसारका लागि बाड्न थालिएको केन्द्र प्रमुख सुरज रेग्मीले जनाउनु भएको छ ।
वितरण गरिएको पम्पलेटमा अनलाइन भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने गरि विभिन्न प्रक्रिया जानकारीहरु, अधिकतम् विद्युतीय उपकरणको प्रयोगको फाइदा, महसुल किफायत तथा विद्युतीय समस्या आइपरे नजिकको फ्युज सेवामा जुनसुकै बेला सुचना दिन सकिने गरि कोहलपुर वितरण केन्द्रले सो पम्पलेट मार्फतपनि प्रचारप्रसारलाई बढावा दिएको छ ।
“अहिले पनि सहि जानकारीको अभावमा कतिपय सेवाग्राहीले अनाहकको समस्या झेलीरहेको पायौँ, त्यसैले केहि हदसम्म भएपनि समाधानको अपेक्षा लिएर यो पनि तरिका अपनाएका हौँ”- केन्द्र प्रमुख रेग्मीले भन्नुभयो । कोहलपुर वितरण केन्द्र अन्तर्गत हाल ४० हजार विद्युत उपभोक्ता रहेको बताइएको छ । औषतन् दैनिक ५ सयले मात्र त्यहाँ अनलाइन भुक्तानी भइरहेको देखिएको छ ।
