Tuesday, April 21सत्यम खबर
Shadow

‘शारदा/ढुण्डीराज– नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

काठमाण्डौ, १ मंसिर – एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।
बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदा/ढुण्डीराज– नाफिजआर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्नेछ । भट्टराईले आफ्ना माता पिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका हुन् ।
पुरस्कारका लागि आवश्यक पर्ने स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने छन् । पुरस्कार सम्बन्धी सम्झौता पत्रमा बुधबार नाफिज अध्यक्ष मोदनाथ ढकाल र दाता भट्टराईले हस्ताक्षर गरे ।


सम्झौता अनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । १० लाख रुपैयाँ अक्षय कोषका रुपमा उपयोग गरिनेछ । सोही रकमको ब्याज वापत प्राप्त हुने रकमबाट हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई निश्चित कार्यविधि बनाई छनौट गरी पुरस्कृत गरिनेछ ।
‘मेरो पुजनीय बुवा र आमाको सम्झनामा आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार नाफिजसँग मिलेर यो काम गरेको हुँ, यसले आर्थिक पत्रकारितामा संलग्नहरुको लेखन वृत्तीका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु’, हस्ताक्षर कार्यक्रममा भट्टराईले भने । उनले नेपालमा आर्थिक पत्रकारिताको बलियो जग बसाउनु आवश्यक रहेको र त्यसका लागि सम्मान तथा पुरस्कारहरुको संख्या र गुणस्तर दुबै बढाउनु पर्नेमा जोड दिए ।
नाफिज अध्यक्ष मोदनाथ ढकालले एक लाख राशीको ठूलो आर्थिक पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा खुसी लागेको र यसले नाफिज आवद्ध पत्रकारहरुलाई थप मेहनतका लागि पनि प्रेरित गर्ने बताए । ‘यो पुरस्कार मात्रै होइन, आर्थिक पत्रकारितामा अब्बलता देखाउने प्रेरणा पनि हो, यसले थप गतिशिल, अनुशासित र तथ्य परक आर्थिक पत्रकारिताका लागि प्रेरणा दिने नाफिजले अपेक्षा गरेको छ’, ढकालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *