
नेपालगन्ज, २६ असोज – मुगुमा भएको बस दुर्घटनाका घाइतेहरुलाई नेपालगन्ज ल्याउन लागिएको छ । दुर्घटनामा घाइते १४ जनालाई जहाज र हेलिकप्टरमार्फत् नेपालगन्ज ल्याउन लागिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
समिट एअरको जहाजमा १२ जना र नेपाली सेनाको हेलिकप्टरमा २ जनालाई राखेर मुगुको ताल्चा विमानस्थलबाट टेकअफ भएको प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । सेनाको हेलिकप्टर उद्दारका लागि सुर्खेतबाट मुगु गएको थियो ।

उनका अनुसार एक जना बालिकाको जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ । ‘आफन्तले मोटरसाइकलमै बालिकालाई जिल्ला अस्पताल पु¥याउनुभएको रहेछ, उहाँको अवस्था सामान्य भएको जानकारी छ,’ उनले भने ।
उनका अनुसार नेपालगञ्ज विमानस्थलमा ९ वटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । हेलिकप्टर र जहाजमा ल्याइएका घाइतेहरूलाई ती एम्बुलेन्सले अस्पताल पु¥याउनेछन् । दुर्घटनामा परी २३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मुगुको छायानाथ रारा नगरपालिका–७ मा मंगलबार दिउँसो पौने दुई बजे बस दुर्घटना भएको हो । सुर्खेतबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ३९ जना सवार थिए । बस सडकबाट अन्दाजी दुईदेखि ढाइ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
