Sunday, April 12सत्यम खबर
Shadow

भारतले अर्को महिनादेखि कोरोना खोप निर्यात गर्ने

नयाँदिल्ली, ५ असोज – भारतले अर्को महिना (अक्टोबर)देखि अरू देशलाई पनि कोरोना भाइरस विरूद्धको खोप दिने भएको छ। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मान्दभियाले सोमबार अक्टोबरदेखि विदेशमा खोप पठाउन सुरू गरिने बताएका हुन्।
सेरम इन्स्टिच्युट अफ इन्डियाले अष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयल बनाएको कोरोनाविरूद्धको खोप भारतमै उत्पादन गरिरहेको छ। कोभिसिल्ड नाम दिएको उक्त खोप सुरूमा भारतले अरू देशलाई पनि दिएको थियो।
नेपाललाई भारतले सुरूमा १० लाख डोज खोप अनुदानमा दिएको थियो। पछि नेपालले सेरमसँग २० लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। उक्त २० लाख डोजमध्ये नेपालले १० लाख डोज खोप पाएमात्र पाएको छ।


भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि खोप निर्यातमा प्रतिबन्ध लगाइएको थियो।
भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि कोभिसिल्डको पहिलो डोज लगाएका नेपालीले लामो समयसम्म दोस्रो डोज लगाउन पाएका थिएनन्। केही समयअघि जापान सरकारले अष्ट्राजेनेका खोप अनुदान दिएपछि उनीहरूले दोस्रो डोज लगाएका छन्।
भारतीय स्वास्थ्यमन्त्री मान्दभियाले भारतभित्र खोप लगाउने कुरामा राम्रो प्रगति भइरहेकाले अब ‘भ्याक्सिन मैत्री अभियान’अन्तर्गत कोभ्याक्स र अन्य मुलुकलाई खोप निर्यात गरिने बताएका हुन्। यसअघि भारतले संसारका ७० भन्दा बढी मुलुकमा ६ करोड ६० लाख डोज खोप पठाएको थियो।
अक्टोबरमा मात्रै भारतमा ३० करोड डोज खोप उत्पादन र आगामी तीन महिनामा १०० करोड डोजभन्दा बढी खोप बन्ने उनले जानकारी दिए।
भारतमा अहिलेसम्म झन्डै ९० करोड डोज खोप लगाइसकेको र खोप लगाउने क्रम तीव्र रूपले अघि बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *