नेपालगन्ज, ५ वैशाख – शनिबार नेपालगन्जमा उपन्यास ‘मनको उडान’ विमोचन गरियो । कोरोना महामारीलाई ध्यानमा राख्दै सीमित साहित्यकार र साहित्यपे्रमीहरुको उपस्थितिमाझ विमोचित उक्त कृतिको समीक्षकका रुपमा लेकप्रसाद प्याकुरेल र पुष्कर रिजालले बोलेका कुराले उपस्थित सबैको ध्यान तान्यो ।
विज्ञान सम्बन्धी विरलै मात्र पुस्तकहरु प्रकाशन हुने नेपालमा बाँके निवासी साहित्यकार शशीराम कार्कीले एक फरक र अर्थपूर्ण उपन्यास रचना गरेको दुवै समीक्षकको धारणा थियो । प्याकुरेलले उपन्यासमा प्रस्तुत स्वैरकल्पनाका प्रसंग उल्लेख गर्र्दै भने, ‘नेपाली आख्यान साहित्यमा मनको उडानले नयाँ धारको उजागर गरेको छ ।’
उपन्यास मनको उडान अन्तरिक्ष यात्राको कथामा आधारित छ । नेपाली साहित्यमा विज्ञान कथामा आधारित विषयमा सरुभक्तलगायत औंलामा गन्न सकिने साहित्यकारले मात्रै कलम चलाएका छन् । ‘मनको उडान’ उपन्यास विज्ञान कथामा पनि अन्तरिक्ष कथामा आधारित छ । जुन विषयमा नेपाली भाषामा झनै कम मात्रै पुस्तकहरु पढ्न पाइन्छ ।
समीक्षक प्याकुरेलले भने, ‘यस उपन्यासमा प्रयुक्त नेपाली परिवेश विज्ञान कथा र त्यसमा पनि अन्तरिक्ष कथामा बिलकुलै नयाँ प्रयोग हो ।’ समीक्षक रिजालले उपन्यासमा नेपाली पारिवारिक संरचना, राजनीतिक भविष्यको सकारात्मक परिकल्पना पनि उतार्न उपन्यासकार सफल रहेको बताए । रिजालले भने, ‘यस उपन्यासमा रचनाकारले स्वैरकल्पना त गरेका छन् । तर त्यसका वैज्ञानिक आधारहरु पनि प्रस्तुत गरेका छन् ।’ दुवैजना समीक्षकले उपन्यास माध्यमिक तह र विश्वविद्यालय तहको पाठ्यक्रममा समावेश गर्न लायक रहेको दावी गरेका छन् ।
उपन्यासका रचनाकार कार्कीले ‘मनको उडान’ आफ्नो लेखनको पहिलो कृति भएपनि प्रकाशनमा ढिलाई हुँदा चौथो बन्न पुगेको बताए । चार सय ३५ पृष्ठ लामो उपन्यास ‘मनको उडान’को अन्तिम पृष्ठमा लेखकले उपन्यासमा नेपालका सात प्रदेशहरु मध्ये चारवटा प्रदेशको नाम र शिशु ग्रहको वयान गर्दा शिरस नामको सबभन्दा ठूलो शिशु ग्रहमा पानीको वाफ रहेको लेखेकोमा सन् २०२० मा नासाले पनि उक्त कुराको वैज्ञानिक पुष्टि गरेको उल्लेख गरेका छन् ।
उपन्यास नेपाली मानक कथाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले विमोचन गरेका थिए । इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासको मूल्य पाँच सय ९९ रुपैयाँ तोकिएको छ ।