जेनेभा, ४ पौष – गरिब राष्ट्रहरूमा नयाँ बर्ष सन् २०२१ को सुरूदेखि नै कोरोना विरूद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ ।
डब्लुएचओ र त्यसका साझेदारहरूले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने शुक्रबार बताएका हुन् । उनीहरूले सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको जनाएका छन् ।
विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरूले जानकारी दिएका छन् ।
संगठनले जारी गरेको वक्तव्यमा लेखिएको छ, ’सबै देशले कोरोनाविरूद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरूमा पनि सन् २०२१ को सुरू देखि नै खोप पठाइने छ ।’
अध्यारो सुरुङ्मा पनि थोरै उज्यालो हुन्छ भने झैँ महामारीका बेला पनि गरिब मुलुकलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिए । (एजेन्सी)