नेपालगन्ज, ७ कात्तिक – सरकार गठन भएको तीन महिनापछि लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार हुन लागेको छ।
सत्तारूढ दलहरूका बीचमा यसअघि नै सहमति जुटे पनि नेपाली कांग्रेसभित्रकै आन्तरिक किचलोका कारण रोकिएको मन्त्रिमण्डल विस्तारको काम तीन महिनापछि हुन लागेको हो।
नेपाली कांग्रेसको एउटा समूहले बर्दियाबाट प्रत्यक्ष निर्वाचित जन्मजय तिमिल्सिनालाई मन्त्री बन्न रोक्दा मन्त्रिमण्डल विस्तार हुन सकेको थिएन।
नेपाली कांग्रेसका एक सांसदका अनुसार संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्ली चौधरी तिमिल्सिनालाई यसअघि नै मन्त्री बनाउने पक्षमा थिए भने सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) र आर्थिक तथा योजनामन्त्री धनेन्द्र कार्की उनलाई मन्त्री बन्नबाट रोक्ने पक्षमा थिए।
गत साउन ९ गते सरकार गठन हुँदा नै नेपाली कांग्रेसको नेतृत्व गर्दै तिमिल्सिना मन्त्री बन्ने निश्चित जस्तै भएको थियो।
तर शपथ ग्रहणको केही घण्टाअघि मात्रै मन्त्रीको सूचीबाट नाम हटेपछि उनी रूष्ट बनेका थिए। आफ्नो नाम हटाएर बाँकेबाट निर्वाचित बादशाह कुर्मीलाई मन्त्री बनाएपछि रूष्ट बनेका तिमिल्सिनाले प्रदेश सभामा नेपाली कांग्रेसको प्रमुख सचेतकबाट राजीनामा दिएका थिए।
कुर्मीले राजीनामा दिएको झण्डै डेढ महिनापछि प्रदेश सरकारमा तिमिल्सिनासहित तीन जना मन्त्री थप हुने भएका हुन्। मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार बिहान ८ बजेका लागि नयाँ बन्ने मन्त्रीहरूको शपथ ग्रहणको तयारी गरेका छन्।
‘बिहीबार बिहान ८ बजे बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरूको शपथ ग्रहण हुँदैछ,’ मुख्यमन्त्री कार्यालय निकट स्रोतले भन्यो।
नयाँ बन्ने मन्त्रीहरूमा नेपाली कांग्रेसबाट तिमिल्सिना र नवलपरासीबाट निर्वाचित देवकरणप्रसाद कलवार छन्। त्यस्तै अशोक राइको पार्टीबाट बाँकेको निर्वाचन क्षेत्र नं. २ ख बाट निर्वाचित आदेश अग्रवाल पनि मन्त्री बन्दै छन्।
तिमिल्सिनाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी लिँदै छन् भने कलवारले वन तथा वातावरण तथा अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी लिने पक्का भएको हो।
अहिले लुम्बिनी प्रदेश सरकारमा आठ जना मात्रै मन्त्री छन्। साउन ९ गते मुख्यमन्त्री चेतनारायण आचार्यसहित ९ जनाले शपथ लिएको भए पनि बादशाह कुर्मीको राजीनामापछि आठ जना मात्र मन्त्री छन्।
तिमिल्सिनाको नाम हटाएर मन्त्री बनेका कुर्मीले गत भदौ २५ गते राजीनामा दिएका थिए। बाँकेकी निर्मला कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप लागेका कुर्मीलाई मन्त्री पदबाट हटाउन बाँकेका महिला अधिकारकर्मीहरूले काठमाडौंमा दबाबमूलक आन्दोलन गरेपछि नेपाली कांग्रेसको आग्रहमा उनले राजीनामा दिएका थिए।
सरकार गठन गर्दा पाँच वटा मन्त्रालय लिने सहमति गरेको नेपाली कांग्रेसबाट अहिले आर्थिक मामिला तथा योजना मन्त्री धर्मेन्द्र कार्की, सहरी विकास मन्त्री प्रचण्ड विक्रम न्यौपाने र उद्योग पर्यटन तथा यातायात मन्त्री सरोज थापा मात्रै मन्त्री छन्।
सहमति अनुसार नेपाली कांग्रेसबाट तिमिल्सिना र कलवार मन्त्री बन्न लागेका हुन्।
सरकारको नेतृत्व गरेको नेकपा एमालेबाट मुख्यमन्त्री आचार्यसँगै भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु र सीता शर्मा मन्त्री छन्। ढकाल भौतिक पूर्वाधार मन्त्री, पन्थी कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री, सारु स्वास्थ्य मन्त्री र शर्मा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री छन्।
यसअघि नागरिक उन्मुक्ति पार्टीबाट राजकुमार चौधरी पनि मन्त्री बन्ने चर्चा गरिएको भए पनि उनी अहिले मन्त्री नबन्ने भएका छन्।