
काेहलपुर, ६ मंसिर – सेवाग्राहीहरुको थप सुविधाका लागि कोहलपुर वितरण केन्द्रले आफ्नो आय संकलन काउन्टरको सञ्चालन अवधि बढाएको छ ।
नेविप्राले मौसम अनुसार काउन्टर सञ्चालन समयावधि पुर्व निर्धारित गरेता पनि आय संकलन काउन्टरमा देखिएको ग्राहकहरुको भीड तथा महसुल भुक्तानी गर्न आउने ग्राहकहरुको प्रतीक्षा अवधि कम गर्न कोहलपुर वितरण केन्द्रले दैनिक एक काउन्टर बिहान ९ बजेदेखि सञ्चालन गर्दै हिउँद महिनामा अपराह्न ३ बजेसम्म सञ्चालन हुने गरि तालिका सार्वजनिक गरेको छ ।
कोहलपुर वितरण केन्द्र अन्तरगत लगभग ४० हजार बढी विद्युत सेवाग्राही रहेका छन् । सो वितरण केन्द्रमा दैनिक ४ वटा आय संकलन काउन्टर सञ्चालित छन । ती मध्ये एक काउन्टर हरेक दिन बिहान र अपराह्न गरि थप दुई घन्टा सेवाप्रवाह गर्ने जनाइएको छ । यो थप अवधिले सरकारी, गैरसरकारी लगायतका क्षेत्रमा सेवारत कतिपय सेवाग्राहीहरु लाई थप सहज बनाउने अपेक्षा वितरण केन्द्रले गरेको जनाएको छ ।
कोहलपुर वितरण केन्द्रको प्रमुख भएर आए लगत्तैदेखि केन्द्र नव प्रमुख ई.सुरज रेग्मीले सेवाग्राहीहरुलाई कार्यालयको सेवा थप छिटो छरितो पुर्याउन विभिन्न रणनीति अपनाउनु भएको छ । सेवा क्षेत्र अन्तरगत टाढा दुरीमा पर्ने चिसापानी र शम्सेरगञ्ज क्षेत्रमा अलग अलग नो लाइट सेवा खडा गरेर प्राविधिक टोली खटाउदै त्यहीँबाट छिटो छरितो विद्युत सेवा प्रवाहका लागि पनि पहल थालिएको जनाइएको छ ।
